बिहीबार थपिए १६७ संक्रमित, डिस्चार्ज संख्या ११२४९ पुग्यो


बिहीबार थपिए १६७ संक्रमित, डिस्चार्ज संख्या ११२४९ पुग्यो

नेपालगन्ज : नेपालमा बिहीबार थप १६७ जनामा कोरोना भाइरस पोजेटिभ पाइएकोछ । देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीबार मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको जनाए ।

उनले देशभरबाट बिहीबार थप २ सय १३ जना कोरोना संक्रमणमुक्त भएको जानकारी दिए । योसहित नेपालमा हालसम्म ११ हजार २ सय ४९ जना उपचारपछि निको भएका छन् । नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए । भने मंगलबारसम्म नेपालमा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।