नेपालगन्ज : पश्चिम नेपालमा सर्पको विगविगी बढेकोछ । विशेषगरि वर्षातको समयमा सर्पको विगविगी बढ्ने गर्छ । यस्तो समयमा सावधानी अपनाउन नसके अकालमै मृत्युवरण समेत हुने गरेकोछ ।
यतिबेला देशभर वर्षातको समय छ । वर्षासगैं सर्पको पनि उत्तिकै जोखिम बढेर आएकोछ । सर्पले डस्दा चेतनाको कमी, भौगोलिक कठिनाई तथा उचित उपचारको कमीका कारण अधिकाशंले आफ्नो ज्यान गुमाइरहेकाछन् । यस्तो अवस्थामा सावधानी अपनाएर सजग हुनुको विकल्प नरहेको चिकित्सक सुझाउँछन् ।
असार ३० गते बेलुकी ८ बजे दाङको शान्तिनगर गाउँपालिका–५, काँशीपुरकी १७ वर्षिया एलिशा डाँगीलाई गोमन सर्पले डस्यो (टोक्यो) ।बाथरुमको भेन्टीलेशनमा मोबाइल राख्ने बेला उनको दाहिने हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि उनलाई तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगियो ।
स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले आइसियू र भेन्टीलेटर नभएको भन्दै उनलाई नेपालगन्जस्थित भेरी अस्पतालमा रेफर ग¥यो । उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका सर्प दंश फोकल पर्सन समेत रहेका कन्सल्टेन्ट फिजिसियन डाक्टर पारस पाण्डेका अनुसार ‘उनको स्वास्थ्यमा सुधार आएको छ । उनको होस खुलेको छ । बोल्न सक्ने भएकी छन् । दाङबाट ल्याउँदा समय लागेकोले स्वास्थ्यमा सुधार हुन समय लागेको हो ।’
यस्तै बाँसगढी नगरपालिका–४, अस्नेरी, बर्दियाकी २८ वर्षिय रुपा परियारलाई ३१ असारको राती ११ बजे करेत सर्पले डस्यो । सुतेको बेला हात चलाउँदा झुलमाथि बसेको सर्पले उनलाई डस्यो । उनी चिच्याइन् । घर परिवारका सदस्य उठेर खोज्दा करेत सर्प फेला प¥यो । यतिबेला उनको पनि भेरी अस्पतालको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ । अस्पताल पु¥याउँदा उनी बेहोस थिइन् । उपचार पछि उनको पनि होस खुलेको डाक्टर पाण्डेले बताए ।
असार अन्तिम सातादेखि पश्चिम नेपालमा विषालु सर्पको विगविगी बढेको छ । वर्षातसँगै गर्मी बढेपछि पश्चिम नेपालमा विषालु सर्पको विगविगी बढेको उनले बताए । यहाँ दैनिक सरदर १० जना सर्पले डसेका विरामी उपचारका लागि आउने गरेको डाक्टर पाण्डे बताउँछन् ।
विषालु सर्पले डस्दा यतिबेला विरामीले भेरी अस्पतालको इमरजेन्सीका बेड भरिएको छ । भने, आइसियूमा पनि विषालु सर्पले डसेका विरामीको संख्या धेरै भएको डाक्टर पाण्डेले बताए । उनले यो अवधिमा भेरी अस्पतालमा उपचारका लागि ल्याइएका एक जनाको मृत्यु भएको बताए ।
‘उपचारका लागि ढिलोगरि ल्याएका कारण एक जनालाई बचाउन सकिएन,’ डाक्टर पाण्डेले भने, ‘आइसियूमा राखेर उपचार ग¥यौँ, तर धेरै ढिलो भइसकेको थियो । बचाउन सकेनौँ ।’
सर्पले टोकेर (डस्दा) अस्पताल पुग्न नपाउँदै तीन जनाको मृत्यु भएको उनले बताए । उनले झारफुकमा विश्वास गरेका कारण अस्पताल ल्याउन ढिलाई हुने गरेको बताउँछन् । ‘उपचारका लागि अस्पताल ल्याउनु भयो, तर अस्पताल पुग्दा दुई जना विरामीको मुटुको चाल बन्द भइसकेको थियो,’ उनले भने ।
भेरी अस्पतालमा जेठ दोस्रो सातादेखि असार मसान्तसम्म एक सय २५ जना उपचारका लागि आएको बताउँदै उनले पछिल्लो तीन दिनमा मात्र १४ जना सर्पले टोकेका विरामी भर्ना भएको बताए । यी मध्ये आठ जनाको आइसियू वार्डको भेन्टीलेटरमा राखेर उपचार भइरहेको उनको भनाई छ । अधिकांशले जटिल समस्या भएपछि मात्र उपचारका लागि अस्पतालमा ल्याउने गरेको उनले जानकारी दिए ।
कैलालीको सेती अस्पताल र दाङको तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियू र भेन्टीलेटर नहुँदा त्यहाँका विरामी पनि भेरी अस्पतालमा रेफर भएर आउने गरेको डाक्टर पाण्डेले जानकारी दिए । उपचारका लागि भेरी अस्पतालमा आएका मध्ये धेरैजसो करेत सर्पले टोकेका विरामी आउने गरेको अस्पतालले जनाएको छ । डाक्टर पाण्डेका अनुसार, सर्पले टोकेका मध्ये अधिकांश ४० वर्ष मुनीका छन् ।
यस्तै बाँकेको हकमा भने कोहलपुर क्षेत्रबाट सर्प दंशका विरामी धेरै आउने गरेको डाक्टर पाण्डेले जानकारी दिए । गत वर्ष पनि कोहलपुर क्षेत्रबाट सर्प दंशका विरामी धेरै आएको बताउँदै उनले भने –यस वर्ष पनि कोहलपुर क्षेत्रबाट नै धेरै सर्प दंशका विरामी आएकाछन् ।
बाँके र बर्दियाका अधिकाशं बस्ती राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रमा छन् । जङ्गक्षेत्रमा मावन बस्ती भएसगैं यी क्षेत्रमा सर्प दंशको समस्या अन्य क्षेत्र भन्दा बढि देखिएको हुन सक्ने उनी बताउँछन् ।