नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना समुदायमा नफैलिएको बताएकोछ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको आशंकामा समुदायमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएपछि यस्तो बताएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौं उपत्यकामा चारहजार ८ सयको समुदायमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएको बताए ।
उनका अनुसार तीनजनामध्ये कोरोना संक्रमित पनि दुईजना विदेशबाट आएका र एक जना ब्युटीपार्लर सञ्चालन गर्ने व्यक्ति रहेका छन् । जुन नतिजाबाट पनि स्थानीय कोरोना संक्रमण भएर समुदायमा कोरोनाभाइरस नफैलिएको उनले दाबि गरे । तर, उनले संक्रमणको संख्या घट्दैमा कोरोना जोखिम नघटेको बताए ।
उनले भने–‘विभिन्न अध्ययनहरुले बढी भीडभाड हुने स्थानमा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने देखिएको छ ।’ विभिन्न सार्वजनिक स्थलहरुमा भीडभाडहरु बढ्दा मन्त्रालय चिन्तित भएको उनले जानकारी दिए । कोरोनाबाट बच्न दुई मिटर टाढा बस्ने, पटकपटक हात धुने र भीडभाडमा जाँदा अनिवार्य मास्क लगाउन मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले आग्रह गरे ।
काठमाडौं उपत्यकाबाट बाहिर नगएका (ट्राभल हिस्ट्री) व्यक्तिलाई समेत कोरोना पोजिटिभ देखिएपछि सरकारले समुदायमा कोरोनाको स्थिति पत्ता लगाउन परीक्षणलाई तीव्र बनाएको थियो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हालसम्म गरिएको ४ हजार ८ सय जनाको पीसिआर परीक्षणमा ३ जनाको मात्र पोजिटिभ आएको छ । टोखा क्षेत्रका ३ जनामा कोरोना पोजिटिभ पाइएको हो ।