File Photo
नेपालगन्ज : बाँके सहित कोरोना संक्रमणको उच्च जोखिममा रहेको कर्णाली प्रदेशका अधिकाशं क्वारेन्टिन खाली हुदैँ गएका छन् । सबैभन्दा बढी जोखिममा रहेको दैलेखमा बनाइएका २ सय ३३ स्थानका क्वारेन्टिन पनि खाली हुँदै गएको जिल्ला अस्पताल दैलेख बताउँछन ।
दैलेखका ११ वटै स्थानीय तहमा यतिका क्वारेन्टिन निर्माण गरिएको थियो । तत्कालिन अबस्थामा भरिभराउ भएका क्वारेन्टिन अहिले खाली हुँदै जादाँ जिल्लामा कोरोना संक्रमणको अवस्थामा सुधार आएको देखिएको छ ।
यहाँका यी क्वारेन्टिनमा यसअघि १२ हजार जना नागरिक थिए । अहिले करिब डेढसयको हाराहारीमा मात्रै नागरकहरू क्वारेन्टिनमा छन् ।
भारतबाट फर्किनेको संख्या घटेपछि यसअघि कोरोना संक्रमणको ‘रेड जोन’ मानिएको दैलेखका क्वारेन्टिइन रित्तिँदै गएको जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्शन थीरप्रसाद रेग्मी बताउँछन् । उनकाअनुसार ३९ संक्रमितलाई आइसोलेसनमा राखी उपचार गरिरहेको थियो । परीक्षण ढिलो हुँदा एकैपल्ट ठूलो संख्यामा संक्रमण देखिएको उनको भनाई छ ।
दैलेखमा ८ सय ४३ जनामा संक्रमण पुष्टि भएकोमा ७ सय २५ जना निको भएर घर फर्किएका छन् । बचेका विरामी ५० शैयाको नवनिर्मित कोरोना विशेष अस्पतालमा सारिएको छ ।
यसैगरी, बाँकेमा पनि आइसोलेसन खाली हुँदै गएका छन् । आइसोलेसनमा रहेका ३८३ जना संक्रमितमध्ये ३६६ जना निको भएर घर फर्किएपछि आइसोलेसन खाली भएका छन् ।
दुईवटा आइसोलेसन सेन्टरमा तीन महिला र १२ पुरुष गरी १५ जना संक्रमित मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिका कोरोना मुक्त भएका छन् । ती गाउँपालिकाका सबै संक्रमित निको भएर घर फर्किसकेका छन् ।
बाँकेका आठवटा गाउँपालिकामा रहेका १२ वटा आइसोलेसन सेन्टरमध्ये १० वटा खाली भएपछि बन्द गरिएको छ । त्यसैगरी, यहाँका १०८ वटा क्वारेन्टिन पनि बन्द भएका छन् ।
भारतलगायत अन्य देशबाट आउनेको संख्या घटेपछि यहाँका क्वारेन्टिन बन्द भएको कोरोना फोकल पर्शन श्रेष्ठले बताए । बाँकेमा कोरोना संक्रमित एक पुरुष र एक महिला गरी दुईजनाको मृत्यु भएको छ । दुवैजनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।