साउनको पहिलो सोमबार खुलेन पशुपतिनाथको मन्दिर


साउनको पहिलो सोमबार खुलेन पशुपतिनाथको मन्दिर

नेपालगन्ज : आज साउनको पहिलो सोमबार । हिन्दु धर्मावलम्बिा लागि विशेष दिन । तर, आजकै दिन विश्वभरीका हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर खोलिएन ।

कोरोना संक्रमणको महामारी सुरु भएसँगै बन्द भएको पशुपतिनाथको मन्दिर यसवर्षको पहिलो सोमबार खुल्न सकेन । तर, आगामी सोमबारदेखि खुल्ने भएको छ । मन्दिर खुलेसँगै सर्वसाधारणले पूजा गर्न पाउनेछन् ।

सरकारले यसअघि लगाएको बन्दाबन्दीका कारण नखोलिएको बुझिएको हो । तर, सरकारले यसअघि लगाएको बन्दाबन्दीको समयवधि यही साउन ७ गते सकिदैछ ।

‘यही दिनबाट खोल्ने भन्ने निर्णय भइसकेको छैन, छलफल चलिरहेको छ,’ संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले भने,‘तर अर्को सोमबार दर्शनार्थीले पूजा गर्न पाउने गरी खोल्ने निर्णय हुनेछ । अब बिस्तारै सबै सेवा खोल्दै जाने क्रममा पशुपतिनाथको मन्दिर पनि प्रोटोकल जारी गर्दै खोलिनेछ ।’

सरकारले निर्णय गरेको अवस्थामा दर्शनार्थीका लागि मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकाल बताउँछन् ।

‘सरकारसँग यस विषयमा कुरा भइरहेको छ । सरकारको निर्णय कुरेर बसिरहेका छौं,’ कोषका सदस्य सचिव ढकालले भने,‘सरकारले निर्णय गरेको अवस्थामा दर्शनार्थीका लागि मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा गरी बसेका छौं ।’

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको थियो । तर, योपटक लकडाउनका कारण व्रतालुले आज (सोमबार) पशुपतिनाथ गएर पूजा गर्न पाएनन् ।

गत आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्दिर खुला गर्ने तयारी थाल्न कोषलाई निर्देशन दिएका थिए । स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर पूजा गर्ने व्यवस्थाको तयारी गर्न उनको निर्देशन थियो । कोरोना संक्रमणको जोखिमका कारण चैत १० गतेबाट मन्दिरमा पूजा गर्न प्रतिबन्ध लगाइएको थियो ।

यसैबीच, पश्चिम नेपालको प्रशिद्ध धार्मिक स्थल नेपालगन्जको बागेश्वरी मन्दिर पनि बन्दाबन्दीका कारण खुल्न सकेन । यहाँका व्रतालु तथा श्रद्धालुले बागेश्वरी मन्दिर र मन्दिर प्राङ्गणमा रहेको जुगेश्वर महादेवको बाहिरबाटै दर्शन गरेर फर्केकाछन् ।