सुर्खेत : नेपालको एक मात्र संरक्षित वन काँक्रेबिहार वन क्षेत्रमा जरायोको आहाराका लागि नेपियर घाँस रोपिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सुर्खेतको वीरेन्द्रनगर–९ मा रहेको संरक्षित वन क्राँकेबिहार क्षेत्रमा जरायोको आहारालाई लक्षित गरेर स्थानीय युवाहरूले उक्त घाँस रोपेका हुन् ।
युवाहरूको सक्रियतामा काँक्रेबिहारको जन्तीसाल क्षेत्रमा करिब एक हजार पाँच सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको स्थानीय युवा बसन्त गिरी बताउँछन् । काँक्रेबिहारको चारैतर्फ मानव बस्ती रहेकाले चरिचरणको अभावका कारण वन्यजन्तु जरायोलाई लक्षित गरी घाँस रोपिएको उनले बताए ।
स्थानीय केशव कोइरालालले एक हजार बिरुवा र सुशील केसीले पाँच सय बिरुवा किनेर सहयोग गरेका छन् । रोपिएका बिरुवा तीन महिनापछि जरायोका लागि खान उपयुक्त हुनेछन् ।
काँक्रेबिहार क्षेत्र रहेको वीरेन्द्रनगर नगरपालिका–९ का वडाअध्यक्ष सुरेश मानन्धरले आगामी आवमा काँक्रेबिहारको चारैतिर पर्खाल लगाइने बताए । जसले गर्दा काँक्रेबिहारको सुरक्षा र वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने मानन्धरको भनाइ छ ।
स्थानीय युवा नारायण जिसीले पहिलो चरणमा परीक्षणको रूपमा १५ सय बिरुवा लगाइएको र दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको जानकारी दिए ।