थप केहीदिन भारी वर्षा जारी रहने, नदी तटिय क्षेत्र उच्च जोखिममा


थप केहीदिन भारी वर्षा जारी रहने, नदी तटिय क्षेत्र उच्च जोखिममा

File Photo

नेपालगन्ज : मौसममा आएको परिर्वतनसगैं देशभर भारी वर्षा भइरहेको छ । वर्षाका कारण देशका अधिकाशं ठाउँमा बाढि, पहिरो, डुवान र कटान भइरहेकोछ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार पनि देशभर मनसुन सक्रिय रही भारी वर्षा जारी रहेने बताएकोछ ।

निरन्तरको भारी वर्षा हुने भएपछि नदी तटिय क्षेत्र डुवान, कटानको हुने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विशेष गरि आज नारायणी र यसका सहायक नदीमा बहाव खतरा तह माथि हुने र नवलपरासीको सुस्ता र आसपास डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशीमा जलस्तर खतरा नजिक हुने, कन्काई, कमला, तिनाउ र पूर्वी राप्तीमा सतर्कता आसपास हुने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । काठमाडौँ उपत्यकामा बागमती र सहायक नदीमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले बताएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेको स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने विभागको भनाइ छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

तीन दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँका नदीमा बाढी आएको छ । केही ठाउँका नदी तथा खोलामा पुल बगाउँदा यातायात सेवा तथा आवतजावत प्रभावित भएको छ ।