सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा


सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

नेपालगन्ज : आगामी साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएकाछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदूर संगठनले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदूरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।
छोटो दूरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले तत्काल लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न सम्भव नभए प्रदेशस्तरमा भएपनि गाडी सञ्चालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।