नेपालगन्ज : कोरोन भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लगाएको लकडाउन हटाएकोछ ।
पटक–पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम गरेको लकडाउन त्यसपछि निजी सवारी जोर–विजोर प्रणालीमा र अत्यावश्यक पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै ल्याएको थियो ।
मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।
१२० दिने बन्दाबन्दी हटाएको सरकारले देशले पुनः विस्तारै गति लिनेमा विश्वास लिएकोछ । यद्यपी कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेकोछ ।
सरकारले लकडाउन खोलेपनि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् राखेको छ । जसअनुसार जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्दै निम्न सेवा सुचारु हुने बताइएको छ ।
साउन १५ गतेदेखि केके खुल्ने ?
१. होटल, रेस्टुरेन्ट
२. ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय
तर, सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला अझै गर्न पाइने छैन ।
भदौ १ देखि केके खुल्ने ?
१. छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र तथा अन्तर जिल्ला सञ्चालन हुने यात्रुबाहक सवारी साधन
२. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान
३. अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल
४. विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन
यी क्षेत्र अझै खुलेनन्ः
१. शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र)
२. सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार
३. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन
४. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल
५. सैलुन, ब्युटीपार्लर तथा स्पा
६. स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब
७. समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९. पुस्तकालय, संग्रहालय र चिडियाखाना
सरकारले मङ्गलबार गरेको पत्रकार सम्मेलनमा यी सेवा र कार्य सञ्चालन हुन अर्को निर्णय नहुदाँसम्म बन्द गर्नुपर्ने बताएकोछ ।