विद्यार्थी भर्ना, स्कुल कलेज खोल्न नपाइने


विद्यार्थी भर्ना, स्कुल कलेज खोल्न नपाइने

नेपालगन्ज : सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री डाक्टर युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागु हुनेगरी बन्दाबन्दी (लकडाउन) अन्त्य गरेको सरकारका प्रवक्ता खतिवडाले बताए ।

कोरोना भाइरस महामारीका कारण स्थगित विद्यार्थी भर्ना, परीक्षा, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरू भने भदौ १ गतेदेखि सञ्चालन गर्न पाइने भएको छ । तर, यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिकामा १ असारदेखि व्यवस्थित रुपमै वैकल्पिक पठनपाठन शुरु गर्ने भनिएको छ । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन) र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्दै आएका छन् ।