लकडाउन खोलियो, सीमा खोलिएन


लकडाउन खोलियो, सीमा खोलिएन

नेपालगन्ज : कोरोन भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लगाएको लकडाउन हटाएकोछ । तर, अन्तर्राष्ट्रिय सीमा नाका खोलिएको छैन ।

सरकारले साउन ३२ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले साउन ३२ सम्म अन्तर्राष्ट्रिय नाकाबाट आवागमन बन्द गरिएको जानकारी दिए ।

सीमा नाका बन्द गरिएकाले कसैले लुकिछिपी सीमा प्रवेश गराएमा संक्रामक रोग निवारण ऐन–२०२० को उपदफा २ अनुसार कारबाही गरिने खतिवडाको भनाइ थियो ।

जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले स्वदेश फर्कनै पर्ने बाध्यात्मक अवस्थामा रहेका नागरिकलाई स्थलमार्ग भएर आउन २० वटा नाका (दक्षिणतर्फका) तय गरिएकाले ती नागरिकलाई आउन दिइने खतिवडाले जानकारी दिए ।