नेपालगन्ज : १२० दिन लामो बन्दाबन्दी बुधबारबाट खुला गरिएकोछ । बन्दाबन्दी खुला गरिएसगैं यसअघि गरिने भनिएको कक्षा १२ को परीक्षा दशैंअघि नै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो ।
बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी यसअघि कार्यविधि पनि पारित गरिसकेकोछ । यो कार्यविधिले कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिनेछ ।
बोर्डले कक्षा ११ को परीक्षा र मार्किङको कार्यविधि पनि पारित गरेकोछ । जसअनुसार विद्यालयले कक्षा ११ को परीक्षा लिँदा बोर्डले यसअघि लिएको जस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्यांकन पनि विद्यालयले गर्नुपर्नेछ ।
बोर्डले पारित गरेको कार्यविधिअनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्नपत्र निकाल्नुपर्नेछ ।
कार्यविधिअनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् । बोर्डका अनुसार विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्नेछन् ।