११ महिनादेखि कर्मचारी कामविहीन


११ महिनादेखि कर्मचारी कामविहीन

भेरीगंगा नगरपालिका । तस्वीर : केशव कोइराला

सुर्खेत : भेरीगंगा नगरपालिकामा समायोजन भई आएका स्वास्थ्यका तीनजना कर्मचारी ११ महिनादेखि कामबिहीन छन् । नगरपालिकाले सिनियर अहेव सहित तीन जनालाई कुनै किसमिको जिम्मेवारी नदिदां उनीहरू कामविहीन भएका हुन् ।

कर्मचारी समायोजन भएर स्थानीय तहमा पुगेका कर्मचारीलाई नगरपालिकाले अहिलेसम्म कुनैपनि जिम्मेवारी नदिएको ती कर्मचारी बताउँछन् । उनीहरुले ११ महिना देखि कार्यालय जाने हाजिर गरेर फर्किनु बाहेक कुनै काम गर्न नपाएको गुनासो गरेका छन ।

स्वास्थ्यतर्फका सात औ तहका नेत्र देवकोटा, छैटौ तहका धनबहादुर देवकोटा र सिता शर्मालाई कुनै जिम्मेवारी दिएको छैन ।कार्यालयमा हाजिर भएको तीन महिना पछि पुस २१ गते स्वास्थ्य शाखामा पदस्थापना गरेपनि कामको भने कुनै जिम्मेवारी दिएको छैनन ।

निजामती कर्मचारी ऐनमा कर्मचारी सरूवा भएर आएको कार्यालयमा २१ दिन भित्रमा जिम्मेवारी दिए सम्बन्धित शाखाको कामकाजमा पठाउनुपर्ने नियम छ । तर, भेरीगंगाले उक्त ऐनको खिल्ली उडाएको छ ।

स्वास्थ्य मन्त्रालयले २०७६ भदौमा भेरीगंगा नगरपालिकाले सरूवा भएका कर्मचारीलाई सम्बन्धित ठाँउमा रमना गरि त्यसको जानकारी मन्त्रालयलाई गराउन पत्राचार गरेको थियो । तर, नगरपालिकाले मन्त्रालयको पत्रलाई व्यवस्था गर्दै सरूवा भएका कर्मचारीलाई काजमा राखेको छ ।
पहुँचको आडले काजका कर्मचारीलाई शाखा प्रमुख बनाईएको भन्दै अन्य कर्मचारीहरुले विरोध गर्दै आएका छन । समायोजन भएर आइसकेपछि ती कर्मचारीलाई पदबाट हटाउनुपर्ने माग गरिएको छ ।

काजको कर्मचारीलाई शाखा प्रमुख बनाएर आर्थिक अधिकार दिनु भनेको गैरकानूनी काम भएको कर्मचारी धनप्रसाद देवकोटा बताउँछन् । उनले पदस्थापन भएको ११ महिना वितेपनि कार्यालय आएर हाजिर गर्ने मात्रै काम भएको बताए । यसबारे नगरप्रमुखले कर्मचारीका कुरा सुनुवाई नगरेको उनीहरू बताउँछन् । नगरपालिको बैठक बसेर यस बारेमा छिटै निस्कर्ष निकाल्ने तयारी भैरहेको यभेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्दबहादुर चन्द बताउँछन् ।