बाँकेका दुईसहित देशभर १११ प्रहरी कोरोना संक्रमित


बाँकेका दुईसहित देशभर १११ प्रहरी कोरोना संक्रमित

नेपालगन्ज : कोरोना भाइरस संक्रमण महामारीकाबीच बाँकेका दुई प्रहरी सहित देशभर १११ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पाइएकोछ । जसमध्ये ९४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमित हुनेहरुमा ६ जना इन्स्पेक्टर, ८ जना सई, ७ जना असई, ३३ जना हवल्दार, ५६ जना प्रहरी जवान र एकजना कार्यालय सहयोगी रहेकाछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर संक्रमित रहेका प्रहरीहरुमध्ये दुई महिला र १०९ पुरुष छन् । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार संक्रमित प्रहरीमा बाँकेका २, बर्दियाका २, सुर्खेतका ८, दाङका २, दैलेखका १४, कपिलवस्तुका ६, गुल्मीका १, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, डोल्पाका २, कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी संक्रमित हुनेहरुमा काठमाडौंका ८, भक्तपुरका १, धनुषाका १२ , सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, धनकुटाका २, मोरङका २ , बाराका ७, रौतहटका ४, महोत्तरीका २, नवलपरासीका ५, बागलुङका १, स्याङ्जाका ३ र तनहुँका २ जना छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय संक्रमित प्रहरीको निको हुने दर बढेको छ । कोरोनामुक्त भएका प्रहरीलाई नियमित कामकाजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।