नेपालगन्ज : बन्दाबन्दी खुलेको तेस्रो दिन नेपालमा १३३ जना कोरोना संक्रमित थपिएकाछन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेका छन् ।
यस्तै शुक्रबार थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ९ सय ४७ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ पीसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै नेपालमा हालसम्म ४४ जना संक्रमितको मृत्यु भएको छ ।