अख्तियारलाई सबैखाले सहयोग गर्न तयार छौं : अध्यक्ष धिताल


अख्तियारलाई सबैखाले सहयोग गर्न तयार छौं : अध्यक्ष धिताल

नेपालगन्ज : भेरी अस्पताल विकास समितिले श्रोत नखुलेको पैसा बरामद भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सबैखाले सहयोग गर्न तयार रहेको जनाएकोछ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै अख्तियारलाई छानविनको गहिराईमा पुग्न आवश्यक पर्ने सम्पूर्ण खालको सहयोग उपलब्ध गराउन अस्पताल विकास समिति तयार रहेको जनाएका छन् ।

भेरी अस्पतालमा २०७७ साउन ८ गते बिहीबारका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमा छापा हानेको थियो ।

भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाल बस्ने स्टोर शाखाबाट १६ लाख १३ हजार ९ सय २५ नगद रकम अख्तियारले बरामद गरेको थियो । सो रकमको स्रोत नखुलेको र छानबिनका लागि निज खनाललाई अख्तियारले हिरासतमा लिएको घटनाले अस्पताल विकास समितिलाई स्तब्ध बनाएको विज्ञप्तीमा उल्लेखछ ।

‘अस्पताल जस्तो विशुद्ध मानवीय सेवामा २४ सै घण्टा लाग्नुपर्ने कार्यालयमा आर्थिक चलखेल भए नभएको के हो ? भन्ने विषयको गहिराई सम्म पुग्न छानविनमा आवश्यक पर्ने सबै सहयोग अस्पताल विकास समिति तयार रहेको सरोकारवाला सवैमा जानकारी गराउँदछु ।’ अध्यक्ष धितालद्वारा जारी विज्ञप्तीमा लेखिएकोछ ।