प्रदुषण जाँचबिनै गुड्छन् सवारी साधन


प्रदुषण जाँचबिनै गुड्छन् सवारी साधन

नेपालगन्ज : सरकारले प्रदुषण जाँचमा कडाई नगर्दा यातायात व्यवसायी र सवारीधनीले आफ्नो मोटर बेलैमा मर्मत गर्ने र चुस्त अवस्थामा राख्ने काममा हेलचेक्र्याइँ गर्दै आएका छन् ।

निजी सवारी साधनले एक वर्ष र सार्वजनिक सवारी साधनले ६/६ महिनामा प्रदुषण जाँच गरेर यातायात कार्यालय वा विभागबाट हरियो स्टिकर लिनुपर्ने प्रावधान रहेको यातायात कार्यालय भेरीका शाखा अधिकृत पूर्ण खत्री बताउँछन् । तर, त्यसको कार्यान्वयन फितलो छ ।

जाँचका क्रममा प्रदूषित धुवाँ फाल्ने ठहर भएका गाडीमा पनि तत्कालै रातो स्टिकर टाँस्ने व्यवस्था छैन । कानूनी व्यवस्थाअनुसार प्रदुषण गर्ने सवारी साधनले वर्कसपसम्म मात्र गुड्न पाउँछन् । तर, त्यस्ता गाडी सडकभरि छ्याप्छ्याप्ति गुड्ने गरेका छन् । अहिले दुईपांग्रे सवारीको प्रदुषण जाँच हुँदैन ।

यसरी मनोमानी रूपमा सवारी चल्न थालेपछि अब सरकारले सडकमै सवारीको प्रदुषण चेक जाँच गर्ने तयारी गरेको शाखा अधिकृत खत्रीले बताए । उनकाअनुसार शुक्रबारदेखि यातायात व्यवस्था विभाग अन्तगर्तको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले सडकमै सवारीको प्रदुषणको अवस्था जाँच गर्न मिल्ने गरी उपत्यकामा दुई वटा घुम्ती भ्यान सञ्चालनमा ल्याएको छ ।

केही सयमय भित्रै नेपालगन्जसहित देशभरका सातवटै प्रदेशमा यस्तो व्यवस्था गर्ने तयारी भैरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् । उनका अनुसार यो सेवा सुरु भएपछि सवारीको प्रदुषण जाँच सडकमै गरेर तकालै प्रिन्टेड रिपोर्ट दिन सकिने छ । सेवा थालनीपछि प्रदुषण जाँच गर्न सडकमा भ्यानबाटै सवारी धनी र चालकले सेवा पाउनेछन् । यो खालको सेवा दिने भ्यानहरु विस्तारै बढाउँदै लैजाने र अन्य प्रदेश र शहरहरुमा पनि पु¥याइने महानिर्देशक हमाल बताउँछन् ।

घुम्ती भ्यानबाट सेवा सुरु भएपछि सडकमा सवारीको प्रदुषणबारे अनुगमन गर्न पनि सहज हुनेछ । अहिले नेपालगन्ज लगायतका शहरमा दैनिक वायु प्रदुषण बढ्दो छ । वायुप्रदुषणको प्रमुख कारण, सवारी साधनबाट निस्कने विषाक्त धुवाँलाई मानिने शाखा अधिकृत खत्री बताउँछन् । तर, यसको नियन्त्रणका लागि सडकमै गएर चेकजाँच गर्न जनशक्ति अभाव छ ।

यसलाई नियन्त्रण गर्ने मापदण्ड लागू गराउन सरकारले उदासिनता देखाउँदा अवस्था विकराल बन्दै गएको छ । अहिले जाँचहरुमा अधिकांश सवारीले बेलैमा इन्जिन मर्मत नगर्ने गरेको भेटिने गरेका छन् । आकस्मिक जाँच गरिएका अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल हुने गरेका छन् । सवारी साधनले फाल्ने अत्यधिक प्रदुषित धुवाँ मानव स्वास्थ्यका लागि जोखिमयुक्त पाइएकाले नियन्त्रण आवश्यक रहेको छ ।