नेपालगन्ज : लकडाउन खुलेपछि बाँके र बर्दिया कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका छन् । यतिबेला बाँके र बर्दियामा कोरोना संक्रमण समुदयास्तरमा फैलिएकोले यहाँ विगतको तुलनामा झनै जोखिम बढेको हो ।
बैदेशिक रोजगारीका क्रममा भारतका विभिन्न सहर गएका नेपाली नगारिक घर फर्किने क्रमसगै यहाँका गाउँपालिकाले क्वारेन्टिनमा राख्न छोडेपछि र यही समयमा सरकारले लकडाउन फिर्ता गर्दा बाँके बर्दियाका सबै पालिका अत्याधिक जोखिममा रहेको देखिएको छ ।
नेपाल–भारत सीमा नजिक रहेका यी दुई जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएपछि यहाँका आम नागरिक त्रसित बनिरहेकाछन् । समुदाय स्तरमा कोरोना फैलिन नदिन यहाँका पालिकाहरु नै उदासिन देखिएकाछन् । यस अवस्थामा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै बन्दाबन्दी पछि बाँकेमा समुदायमै पोजेटिभ केस बढिरहेको बताएका छन् । उनले बाँकेसगैं बर्दियाबासी यतिबेला अहिलेसम्मकै उच्च जोखिममा रहेको आफ्नो फेसबुक वालमा उल्लेख गरेकाछन् ।

बाँकेका प्रजिअ कुरुम्वाङ कोरोना भाइरस संक्रमण समुदायमा फैलिएकाले यसबाट बच्न र बचाउन सबैलाई सचेत रहन आग्रह गर्दछन् । उनको फेसबुक वालमा लेखिएको स्टाटसमाथि प्रतिक्रिया जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ भारत लगायत अन्य देश र जिल्लाबाट बाँके बर्दिया भित्रिने जो कोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्ने बताउँछन् ।
उनका अनुसार पछिल्लो समय बाँके बर्दियाका क्वारेन्टिनहरुमा मानिस राख्न छोडिएकोछ । बाँकेकै बैजनाथ, कोहलपुर, जानकी लगायतका गाउँपालिकाहरुमा समेत रहेका क्वारेन्टिनमा यसरी कोरोनाको जोखिममा रहेका मानिसलाई राखिएको छैन । भारतबाट वा जिल्लाबाहिरबाट आउने नगारिक क्वारेन्टिनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आएकाका कारण बाँके बर्दियाका साथै देशभरका जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको कोरोना फोकल पर्शन श्रेष्ठ बताउँछन् ।
प्रजिअ कुरुम्वाङको फेसबुक स्टाटसमाथि प्रतिक्रिया जनाउँदै नागरिक डिल्ली पोखरेलले समुदाय स्तरमा फैलिएको कोरोना रोकथाम गर्न सबै तह र तप्काका जिम्मेवार ब्यक्तिहरुले जिम्मेवारी बोध गर्नुपर्ने र सबै सजग रहनुपर्ने बताएकाछन् ।
उक्त स्टाटसमा प्रतिक्रिया जनाउँदै रमणी शर्मा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने माग गर्दै समुदाय स्तरमा प्रभावकारी रुपमा टोल,बस्तीमै पुगेर आम नागरिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताँउछन् ।
ब्यापारी र स्वार्थी समूहको दवाबमा परेर सरकारले लकडाउन फिर्ता लिएको आरोप लगाउँदै सुनीलराज पोखरेलले प्रजिअ कुरुम्वाङको फेसबुक स्टाटसमा प्रतिक्रिया जनाउँदै तत्तकाल कोरोना नियन्त्रणका लागि पहल नगरिए आम नागरिक संकटको भासमा जाकिने निश्चित भएको उल्लेख गरेका छन् ।
यसैगरी पारु लम्सालले केन्द्रिय सरकारले लकडाउन खुला बनाउँदा समुदाय स्तरमा कोरोना फैलिएकोले अब यसको नियन्त्रणका लागि जिल्ला प्रशासन र स्वास्थ्यले ठोस निर्णय लिइ अघि बढ्नु पर्ने प्रतिक्रिया दिएकी छिन् ।
सरकारले लकडाउन फिर्ता लिएसगैं बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बर्दियाको गुलरिया, बाँसगढी, भुरी गाउँ र राजापुर लगायतका सहरबजारमा नागरिकको भीडभाड बढेकोछ । सवारी साधन निर्धक्क चलेकाछन् । नागरिक सामाजिक दूरी कायमविनै खरिदविक्रीको कारोबार गरिरहेकाछन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ । यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।