सोमबारबाट तीन दिनसम्म झरी हुने, उच्च सर्तकता अपनाउन विभागको आग्रह


सोमबारबाट तीन दिनसम्म झरी हुने, उच्च सर्तकता अपनाउन विभागको आग्रह

नेपालगन्ज : यसअघि मनसुन हुदाँ देशमा बाढिपहिरो, डुवान, कटानले क्षती भएको थियो । केही दिन शान्त रहेको मौसम पुनः सक्रिय भएकोछ । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ ।

यसपटकको मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । भने केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार रातीबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने सम्भावना देखिएकाले फेरि झरी शुरु हुने विभागको पूर्वानुमान छ ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा लेखिएको छ, ‘आउँदो सोमबार (साउन १२) रातीबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ ।’

त्यसैले ती स्थानहरुका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएको बताउदै उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज आईतबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आईतबार राती प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसवर्ष बाँकेमा भारी वर्षा भएको छैन । यद्यपी पहाडी भेगमा भएको वर्षाका कारण बाँकेको राप्ती, डुडुवा, झिझरी, मानखोला लगायतमा पानीको सतह बढेपछि नदी तटिय क्षेत्रमा डुवान भने भएको थियो । आज आईतबार विहानै देखि बाँके लगायतको क्षेत्रमा मौसम सफा छ भने विहानैदेखि चर्को घाम लागिरहेकोछ ।