कोभिड - १९ : अवस्था भयावह


कोभिड - १९ : अवस्था भयावह

File Photo

नेपालगन्ज : सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक, बजारमा चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बाँकेका बजार र सडकमा आउँदा चलहपहल बढेको हो ।

लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या जिल्लामा थपिने क्रम रोकिएको छैन । दिनहुँ नयाँ सङ्क्रमित देखा पर्दै आएका छन् । दिनहुँ नयाँ सङ्क्रमित देखापर्ने क्रम जारी नै रहेकाले जोखिम कम भयो भन्ने स्थिति छैन । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्सेर राणा, लकडाउन अन्त्य हुनुको अर्थ नागरिक सङ्क्रमणमुक्त नभएको बताउँछन् । उनले भने, ‘यसलाई हल्कारूपमा लिइयो भने अवस्था झन् भयावह बन्न सक्छ ।’

उनकाअनुसार आगामी दिनमा कोरोनासँगै बाँच्न सिक्नुपर्ने अवस्था आएकाले लकडाउन खोल्न सरकार बाध्य भए पनि नागरिकले भने अझ व्यवस्थित र सुरक्षा सावधानीसहित जीवनशैली अगाडि बढाउनुपर्ने देखिएको छ ।

कोरोना सङ्क्रमणभन्दा पनि मानिस भोकले मर्ने अवस्था सिर्जना नहोस् भन्दै केही दिनअघि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेता पनि कोरोनाको जोखिम भने अन्त्य भइसकेको छैन । लामो समयसम्म लकडाउनका बेला गर्न नपाएका कामहरु यतिबेला शहर÷बजार जताततै भीडभाड बढी देखिएको छ । शहरबजारमा खुलेका विभिन्न पसलमा भीडभाड हुने क्रम बढ्दै गए पनि सामाजिक दूरी कायमसमेत भएको पाइँदैन ।

कतिपयले लकडाउन सकिएपछि कोरोना भाइरसको महामारी पनि सकिएको भन्ने बुझाइसमेत राख्दै आएका छन् । उनीहरुले कोरोनाको महामारी आउनुभन्दा अघिका समयझै यतिबेला पनि उस्तै सोचाइका साथ कोरोनाका महामारीको ध्यानमा नराख्दा जोखिम बढ्दै गएको छ । यस्ता क्रियाकलापले थप भयावह अवस्था आउन सक्नेतर्फ सचेत नहुँदा थप कोरोना जोखिम बढ्नसक्ने जानकार बताउँछन् ।

कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउने, नियमित व्यायामलगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुनसक्ने चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल कोरोनाको सङ्क्रमणबाट मुक्त हुने अवस्था नरहेको बताउँदै आएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सबैभन्दा पहिला व्यक्तिगत सावधानी नै महत्वपूर्ण छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ पनि यतिबेला लकडाउन हटेको भएपनि जोखिम नहटेको बताउँछन् ।

उनकाअनुसार बाँके बर्दियामा कोरोना सङ्क्रमित बढिरहेका छन । जोखिम पनि उत्तिकै रहेको छ । सरकारले र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तर, पनि नागरिकले भने लकडाउन र सरकारी नियम लागू नगर्दा जोखिम बढ्दै गएको छ । यसको रोकथाम र नियन्त्रणका लागि अब सरकारको भरपर्नु भन्दा आमनागरिक नै सचेत रहनुपर्ने देखिएको छ ।