क्वारेन्टिन व्यवस्थापन गर्न पालिकालाई पत्राचार


क्वारेन्टिन व्यवस्थापन गर्न पालिकालाई पत्राचार

File Photo

नेपालगन्ज : स्वास्थ्य कार्यालय बाँकेले आईतबार एक बिज्ञप्ती निकाल्दै यहाँका आठ वटै स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापन गर्न आग्रह गरेको छ ।

भारतबाट फर्किएका वा नेपालमै अन्य जिल्लाबाट आएका नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने भन्दै स्वास्थ्य कार्यालयले सबै पालिकामा पत्राचार गरिसकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् । बाँकेमा लकडाउन खुलेपछि पनि दैनिकजसो नै कोरोना संक्रमित फेला परिरहेका छन् । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा बसेका छैनन् ।

यता आन्तरिक राजश्व कार्यालय, नेपालगन्जका एकजना कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आईतबार कार्यालय बन्द गरिएको छ । कार्यालयले एक दिनलाई सेवा बन्द रहेको सूचना टाँसेको छ ।

कार्यालयले सूचना निकालेर भनिएको छ, ‘सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेको एवं कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीहरु क्वारेन्टिनमा रहनु पर्ने भएकाले आजका लागि यस कार्यालयबाट प्रदान हुने सेवाहरु बन्द रहेको व्यहोरा जानकारी गराइन्छ ।’

कर अधिकृतसँग ५० जना बढी प्रत्यक्ष सम्पर्कमा रहेको पाइएको छ । कार्यालय कर्मचारीसँग बाहिर मानिसको पनि घुलमिल भएको देखिएको छ । सबैको पीसीआर जाँचको तयारी भइरहेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

नेपालगन्जको त्रिभुवनचोकको मिठाई पसलमा काम गर्ने ३९ वर्षीयमा कोरोना देखिएपछि पसल बन्द गरिएको छ । फोकलपर्सन श्रेष्ठका अनुसार, उनको सम्पर्कमा रहेका व्यक्तिको सोधीखोजी भइरहेको छ ।