यातायातका कर्मचारीमा पनि कोरोना


यातायातका कर्मचारीमा पनि कोरोना

File Photo

नेपालगन्ज : आन्तरिक राजश्व कार्यालय नेपालगन्जका अधिकृतलाई कोरोना संक्रमण देखिएको चर्चा चलिरहँदा यातायात कार्यालय भेरी, नेपालगन्जका कर्मचारी पनि कोरोना संक्रमण भएको उच्च जोखिममा देखिएकाछन् ।

दुईदिन अघि संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टअनुसार यातायात कार्यालयका एक जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।
कार्यालयको सवारी शाखामा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

सेवाग्राहीको अध्यधिक चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयले तत्कालका लागि सबै काम बन्द गरेको छ । यद्यपी कार्यालय कति दिनसम्म बन्द गर्ने भन्नेबारे निर्णय भइनसकेको र त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको कार्यालयका अधिकृत पुर्ण खत्रीले जानकारी दिए ।

ती महिलासँग कति कर्मचारी र सेवाग्राही सम्पर्कमा रहेका थिए भन्ने यकीन छैन । प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरु पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठीन हुने देखिएको छ । बाँकेमा लकडाउन खुलेपछि दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन् । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र समुदायमै संक्रमित देखिएका हुन् ।