File Photo
नेपालगन्ज : लकडाउनका कारण पाँच महिनादेखि अरुकै सहारामा नेपालगन्जमा उपचार गराइरहेका डोल्पाका दुई बृद्धा महिलालाई आईतबार घर पठाइएको छ ।
उपचारका लागि फागुन १७ गते नेपालगन्ज आएका डोल्पा ठूली भेरी– १ दुनैकी सीता कुमारी शाही र लक्ष्मी मल्ल ठकुरी अलपत्र सरहको अवस्थामा रहंँदै आएका बेला डोल्पाकी एक चेलीले उद्धार गरि उपचारसँगै सहारा दिएकी थिइन ।
जिल्ला प्रशासन कार्यालय डोल्पाको पहलमा ठूली भेरी नगरपालिकाले दुई जनाको हवाई टिकटको व्यवस्था गरिदिएपछि आईतबार विहान उनीहरु आफनो घर पुगेका हुन् ।
दुनैका व्यक्तिहरुबाट सहयोग जुटाएर आएका उनीहरु राम्ररी उपचार गर्न नपाउँदै लकडाउनमा परेपछि नेपालगन्ज वडा नम्बर २० रांँझा एरपोर्ट नजिकै पशुपतिनगरमा चैत्र १० देखि बस्दै आएका थिए ।
भएको पैसा उपचार र खाना खर्चमा गएपछि साँझ विहानको छाक टार्न पनि धौधौ भएको दयनीय खवर सार्वजनिक भएपछि कारकाँदो निवासी बसन्ती रोकाया शर्माले जेठ २१ गते उद्धार गरेर आफनो घरमा बास दिएकी थिइन ।
डोल्पा माईत भएकी रोकायाले घरमा ल्याएर राख्नुका साथै भेरी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरेकी थिइन । दुई महिना आफ्नो घरमा राखेर सेवा गरेकी रोकायाले आईतबार विहान उनीहरुलाई एरपोर्ट पु¥याएकी थिइन । सहाराबिहीन उनीहरुको उपचारका लागि सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले भेरी अस्पतालमा आवश्यक समन्वय र सहजिकरण गरेका थिए ।