नेपालगन्ज : मोफसलमा धेरै उडान भर्ने नेपालगन्ज विमानस्थलको स्तरोन्नती कार्य भएको छ । जसमा पार्किङस्थलको निर्माण कार्य पुरा भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले बताएको छ ।
कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनकै समयमा भएको निर्माण गतिले यहाँको पार्किंगस्थल निर्माणको काम पुरा भएको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन् । भर्खरै निर्माण सकिएको पार्किङस्थलमा ८ वटा एटीआर ७२ विमान लगायत अन्य साना धेरै जहाजहरु पनि त्यहाँ सहज रुपमा पार्किङ गर्न सकिनेछ ।
पार्किङस्थल निर्माणका लागि २८ करोड ५३ लाख ४० हजार ९ सय ४३ रूपैयाँ खर्च भएको छ । जहाज पार्किंगस्थल निर्माणको काम पुरा भैसकेकोले केही समयभित्रै पार्किंगस्थललाई औपचारिक रुपमा सञ्चालनमा ल्याइने तयारी भैरहेको उनी बताउँछन् । मोफसलमा सबैभन्दा बढी उडान हुने नेपालगन्ज विमानस्थलमा जहाज पार्किंगका लागि प्रयाप्त पार्किंगस्थल नहुँदा जहाज राख्न निकै समस्या भैरहेको उनले बताए ।
पार्किंगस्थलकै अभावका कारण धेरै पटक जहाजहरुलाई आकाशमै होल्ड गराएर राख्नु पर्ने बाध्यता थियो विमानस्थलका एटीसी प्रमुख योगेन्द्र कुँवरले भने ‘अब यो समस्याको समाधान भएको छ ।’
यहाँबाट काठमाडौ–नेपालगन्ज दिनभरिनै उडान भैरहन्छ । कर्णाली तथा सुदुर पश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा विहान र अपरान्ह मात्र उडान गर्नु पर्ने भएकाले विमानस्थलमा जहाजहरु पार्किंग गरेर राख्न निकै समस्या हुने गरेको थियो ।
नेपालगन्ज विमानस्थलबाट नेपाल एअरलाइन्स, श्री एअर, सौर्य एअर, बुद्ध एअर, तारा र गोमाले काठमाण्डौ लगायत कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लाहरुमा उडान भर्दै आएका छन् । काठमाडौ बाहेक रुकुमको चौरजहारी र सल्ले, मुगुको ताल्चा, डोल्पा, हुम्ला, जुम्ला र बाजुरामा उडान हुने गरेको प्रमुख ठाकुर बताउँछन् ।