बाँकेसहित देशभर १३९ मा कोरोना संक्रमण


बाँकेसहित देशभर १३९ मा कोरोना संक्रमण

नेपालगन्ज : आन्तरिक राजस्व कार्यालय नेपालगन्जका अर्का कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार भेरी अस्पतालमा गरिएको परीक्षणमा राजस्व कार्यालयका नायब सुब्बा स्तरका कर्मचारीमा कोरोना पुष्टि भएको हो । शनिबार सो कार्यालयमा कार्यरत अधिकृत स्तरका जुम्लाका एक कर अधिकृतलाई कोरोना देखिएको थियो ।

अधिकृतलाई कोरोना देखिएपछी कार्यालयका ५४ जना कर्मचारी र १० जना सेवाग्राही गरी ६४ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एउटा नमुनाको मात्र नतिजा आएको र नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । सोमबार कोरोना पोजिटिभ देखिएका व्यक्ति प्यूठान मल्लरानी गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनी आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा नायब सुब्बा स्तरका कर्मचारी हुन् ।

पछिल्लो २४ घण्टामा उपत्यकाका ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ । ६ सय २६ जना डिस्चार्ज भएका छन् ।

देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर ५ मा ३ सय ५३, कर्णाली प्रदेशमा ३ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना उपचाररत रहेका छन् ।

क्वारेन्टिनमा अहिले १६ हजार ३ सय ७१ जना रहेका छन् । प्रदेश नम्बर ५ मा २ हजार ३ सय ४, कर्णाली प्रदेशमा ८ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैबिच कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित २८ जना दैलेख, दुईजना सल्यनका र एकजना सुर्खेतका हुन् । दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ६ मा २ र ८ वर्षीय २ जना बालक, ५ देखि १३ वर्षसम्मका ४ जना बालिका, ३३ देखि ३८ वर्षसम्मका ३ पुरुष र ३० र ३२ वर्षका २ जना महिलमा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्बर १० मा २ वर्षका एक बालक, ३ वर्षीया एक बालिका, २३ देखि ६३ वर्षसम्मका ८ जना पुरुष र २० देखि २५ वर्षसम्मका ३ जना महिलामा संक्रमण पुष्टि भएको छ । दुल्लुकै वडा नम्बर १२ का २२ देखि ३० वर्षका ३ जना पुरुष र ५५ वर्षीया एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुर्खेतको चिङ्गाड गाउँपालिकाका एक जना र सल्यानको कुमाख गाउँपालिकाका दुईजना रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ । यस्तै, कर्णालीमा सोमबार मात्रै १४ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६५८ पुगेको छ । २४६ सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।