नगरपालिका विरूद्ध व्यवसायी


नगरपालिका विरूद्ध व्यवसायी

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकाले यहाँका साना तथा मझौला तथा सडक व्यापारीलाई निश्चित ठाउँमा मात्रै व्यवसाय गर्न निर्देशन दिएको छ ।

तर, ठेला व्यवसायी नगरपालिकाले जारी गरेको सूचनाको विरोधमा देखिएका छन् । उनीहरुले यस्तो किसिमको सूचना जारी गरेर आफूमाथी नगरपालिकाले अन्याय गरेको बताएका छन् ।

नगरपालिकाले सूचना जारी गर्दै तोकिएको स्थलमा मात्रै व्यापार व्यवसाय गर्न निर्देशन दिएको हो । केही समय अगाडी नगरपालिकाले ठेला तथा पाल टाँगेर व्यापार गरिरहेका व्यवसायीका लागि निश्चित स्थान तोकेको थियो ।

उनीहरुले अहिले तोकिएको स्थानभन्दा बाहिर सडकका पेटीहरुमा ठेला र पाल टाँगी फलफुल, कपडा, तरकारी एंव खाजा नास्ताको व्यापार गरिरहेका छन् ।

तोकिएको स्थान र क्षेत्रभन्दा बाहिर सडक पेटीको छेउछाउमा व्यापार नगर्न नगराउन सूचना मार्फत सूचित गरिएको छ । उल्लेखित स्थानहरुबाट सूचना प्रकाशित गरेको तीन दिन भित्र आफूले सञ्चालन गरेको व्यापार नहटाएको पाईएमा नगरपालिकाले सडक छेउका व्यापार हटाउने र सामान जफत गरि आवश्यक कारवाही गर्ने अधिकृत विरबहादुर बिक बताउँछन् ।