संक्रमित थपिँदै, जोखिम बढ्दैं


संक्रमित थपिँदै, जोखिम बढ्दैं

File Photo

नेपालगन्ज : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन खुकुलो पारिएसँगै नेपालगन्जमा भीडभाड बढेको छ । बजार र सार्वजनिक यातायातका साधनमा सर्वसाधारणको थामिनसक्नु भीड देखिएको छ । यसले जनजीवनलाई थप जोखिममा पारेको छ । सदरलाइन र त्रिभुवन चोकका व्यापारीमा कोरोना संक्रमण देखिएको छ । किनमेलका क्रममा दैनिक सैयौं मानिससँग सम्पर्कमा रहेका व्यापारी नै संक्रमित भएपछि यहाँ त्रास बढेको छ ।

त्रिभुवन चोकमा एक मिठाई पसल सञ्चालन गर्दै आएकाती व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासका व्यापारी तथा सर्वसाधारणमा कोरोनाको त्रास बढेको हो । पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिका–११ सदरलाइनका दुई जनामा कोरोना पुष्टि भएको छ। शनिवार सार्वजनिक पीसीआर रिपोर्ट अनुसार नेपालगन्ज उपमहानगरपालिका–११ का एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

शुक्रबार पनि सोही वडाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । छिमेकमै कोरोना संक्रमित फेला परेपछि सर्वसाधारणमा त्रास फैलिएको जुत्ता, चप्पल व्यापारी बिष्णु मैनालीले बताए ।

‘त्रासका बाबजुद व्यापार गरिरहेका छौँ, व्यापार नगरौँ भने खान पाइँदैन, व्यापार गरौँ भने कोरोनाको त्रास छ, व्यापार गर्ने की बन्द गर्ने दोधारमा छौँ,’ उनले भने । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपनि राज्यले चासो नदेखाएको स्थानीयले बताएका छन् ।

संक्रमितको घर र पसल भएको क्षेत्र सील गर्ने नीति भए पनि राज्यका निकायले यस प्रति चासो नदिएकाले संक्रमणको खतरा झनै बढेको उनीहरू बताउँछन् ।

नेपालगन्जमा मजदूरी गर्दै आएकी बर्दियाकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ । उनी कामका खोजीमा त्रिभुवन चोकमा आएको बेला जिल्ला स्वास्थ्य कार्यालयको टोलीले स्वाब लिएको थियो । उनी पनि काम खोज्दै हरेक दिन त्रिभुवन चोकमा पुग्ने गरेकी थिइन् । बाँकेमा समुदायस्तरमा कोरोना पुष्टि हुनेको संख्या सात पुगेको छ । यी मध्ये दुई जना कोहलपुरका हुन् ।

जिल्लामा नयाँ संक्रमित फेला परेपनि यहाँका सर्वसाधारणमा कोरोनाको त्रास घटेको छ । त्राससँगै स्वास्थ्य सामग्रीको प्रयोग, हात धुने र सेनिटाइजर लगाउने बानी पनि हट्दै गएको छ ।

अनिवार्य गरिएपनि किनमेलका लागि बजार गएकाहरुले समेत मास्क लगाउने गरेका छैनन् । हिँड्डुल र किनमेलका लागि हिँडेकाहरूको अनुहारमा मास्क देखिँदेन । पसलमा गएकाहरुले सामाजिक दूरी पालना नगरी भीडभाडमै किनमेल गरिरहेको नेपालगन्ज उपमहानगरपालिका–१३ का केशव डाँगीले बताए ।

नेपालगन्ज उपमहानगरपालिका–१२, का मोहम्मद हुसैनले कोरोना महामारीबाट पहिले झैं डर नलाग्ने गरेको बताए । ‘पहिले बेला–बेलामा हात धुने, सेनिटाइजर लगाउने, अरूसँग टाढा बस्ने, भीडभाडमा नजाने र मास्क नलगाएर बाहिर निस्कन्थ्यौँ । पछिल्लो समय डर हटेसँगै सजगता पनि कम अपनाउन थालेको महशुस हुन्छ,’ उनले भने ।

लकडाउन खुकुलो भएपछि नेपालगन्जका बैंक, वित्तीय संस्था, सरकारी कार्यालय र संस्थानमा सर्वसाधारणको भीड लाग्ने गरेको छ। महसुल बुझाउन तथा अन्य प्रयोजनका लागि कार्यालयमा पुगेकाहरूले पनि सामाजिक दूरी ख्याल नगरेको नेपालगन्ज उपमहानगरपालिका–१० का राधेश्याम धोबीले बताए ।

समुदायस्तरमा कोरोना संक्रमण देखिएकाले महामारीबाट जोगिन सजग रहन चिकित्सकले सुझाव दिएका छन् । लकडाउन खोलेसँगै क्वारेन्टाइनमा सीमित रहेको कोरोना समुदायस्तरमा देखिएपछि चिकित्सकले सजग हुन सुझाव दिएका हुन् । सरकारले लकडाउन खोलेपनि कोरोना संक्रमणको जोखिम झनै बढेर गएको भन्दै भेरी अस्पतालका ग्याष्ट्रोलोजिष्ट फिजिसियन समेत रहेका कोरोना फोकल पर्सन डाक्टर संकेत रिसालले भीडभाडमा नजान, मास्क प्रयोग गर्न, समय–समयमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, मुख र नाकमा हात नलैजान तथा तातो पानी तथा झोलिलो कुरा खान सुझाएका छन् । लकडाउन खोलेपछि कोरोना संक्रमणका जोखिम झनै बढेकाले सजग बन्न उनले सुझाव दिए ।