नेपालगन्ज : माइती नेपालले सञ्चालन गरेको खाना अभियान बाँकेको कोहलपुरमा पुगेको छ । नेपालगन्ज उपमहानगरपालिकामा चलिरहेको अभियान सोमबारदेखि कोहलपुर पुगेको माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला बताउँछन् ।
पहिलो दिन सोमबार कोहलपुर नगरपालिकाको हवल्दारपुरस्थित माध्यमिक बिद्यालयमा संचालन गरिएको छ । पहिलो दिन हवल्दारपुरका दुई सय पाँच जनालाई खाना बितरण गरिएको संयोजक कोइराला बताउँछन् । गत असार १६ गते शुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढिलाई खाना बितरण गरिसकेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नम्बर–१३ को घसियारनटोल, खटिकनपुर्वा, मसानघाट, बुलबुलिया, वडा नम्बर –१९ को आलानगर, मोहनपुर, वडा नम्बर –२० को गायत्रीनगरमा खाना बितरण गरिएको छ । क्वारेन्टिनमा बस्ने तथा निलसागर बृद्धाश्रममा रहेका व्यक्तिहरुलाई पनि यस अभियानका क्रममा खाना बितरण गरिएको छ ।
कोरोना महामारीको प्रकोपका कारण सबैतिर समस्या भएपनि दैनिक ज्यालादारी मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई परिवार पाल्न झनै गाह्रो बनाएको छ । बिद्यमान अवस्थालाई केही सहज बनाउन तथा खासगरी महिला र बालबालिकालाई पौष्टिक एक छाक खानाले उनीहरुको दैनिक जीवनयापनलाई थोरै भएपनि सहयोग पुगोस भनेर अभियान शुरु गरिएको थयो ।
स्थानीय तहको सहकार्यमा यूएन वुमनको सहयोगमा सञ्चालित यस अभियानका क्रममा नेपालगन्जका उपमेयर उमा थापामगर, १२ का वडाअध्यक्ष बुद्धिसागर सुबेदी, १९ का वडा अध्यक्ष प्रशुराम बर्मा लगायत सहभागि थिए ।दैनिक रुपमा बिहानको एक छाक खाना बितरण गरिँदै आएको अभियान अन्तर्गत १४ हजारलाई एक छाक खाना खुवाइनेछ।