नेपालगन्ज : आजबाट देशभरका सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकोछ ।
विभागका अनुसार देशभर आजबाट मनसुन पुनः सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा देशका अधिकांश भूभागमा वर्षाको सम्भवना रहेको मौसम विद् समिर श्रेष्ठ बताउँछन् ।
आज देशभर अधिकांश स्थानमा मौसम बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यसैबीच आज राती देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, सुदूरपश्चिम तथा कर्णाली प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका स्थानका नदीमा पानीको बहाव बढ्ने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्नै भन्दै सतर्क रहन आग्रह गरेको विभागले पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जानसक्ने बताएको छ । सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै विभागले सतर्क रहन भनेको छ ।
यसैबीच, बाँके लगायतका आसपासका क्षेत्रमा विहानैदेखि मौसममा परिर्वतन आएकोछ । विहानदेखि आकाशमा कालो बादल देखिएको छ भने बाँकेका पूर्वी तथा उत्तर क्षेत्रमा सामान्य वर्षा भइरहेको सूचना प्राप्त भएको छ । यद्यपी नेपालगन्ज र सो आसपासका क्षेत्रमा भने वर्षा भएको छैन ।
देशभर मौसममा आएको परिर्वतनले भारी वर्षा भएता पनि यसवर्ष बाँके लगायतका क्षेत्रमा वर्षा भएको छैन । तथापी पहाडी क्षेत्रमा भएको वर्षा र खोल नदिमा आएको बाढीका कारण यसक्षेत्रका नदि तटीय क्षेत्रमा पानीको मात्रा बढ्नुको साथै डुवान भने भएको छ ।