१२१ जना संक्रमणमुक्त, ४९ जनाको मृत्यु
नेपालगन्ज : नेपालमा मंगलबार थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं नेपालमा कोरोना संक्रमित संख्या १९ हजार ६३ पुगेकोछ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ । भने सोमबार थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएका छन् ।
यस्तै नेपालमा हालसम्म ४९ जना संक्रमितको मृत्यु भएको छ । बझाङमा गत शुक्रबार मृत्यु भएका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसगैं संक्रमित मृत्यु संख्या ४९ पुगेको हो ।
गत शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृतक बृद्धा गत असार २४ गते भारतको बैंग्लोरबाट आएका थिए । नेपाल आए लगत्तै उनी १४ दिन क्वारेन्टिनमा बसेर साउन ६ गते घर गएका थिए । उनका साथ बैंग्लौरबाट उनी, उनका छोराको परिवारसहितको एक समूह आएर क्वारेन्टिनमा बसेको थियो ।
१४ दिन क्वारेन्टिनमा बस्दा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि उनीहरुलाई परीक्षण नगरी घर पठाइएको थियो । साउन ६ गते घर जाने क्रममा उनीमा कुनैपनि स्वास्थ्य समस्या थिएन । घर गएका उनको साउन ९ गते मृत्यु भएको थियो ।