कोरोना संक्रमण रोकथाममा सुरक्षा निकायको सकृयता


कोरोना संक्रमण रोकथाममा सुरक्षा निकायको सकृयता

नेपालगन्ज : सरकारले लकडाउन खोलेसगैं बढेको कोरोना जोखिम रोकथाम र आम नागरिकमा सचेतना अभिबृद्धि गर्न बाँके सुरक्षा निकायले सक्रियता देखाएका छन् ।

यतिबेला बाँके र बर्दिया कोरोना संक्रमणको अत्याधिक जोखिममा रहेका छन् । यहाँका क्वारेन्टिन र आइसोलेसन रित्तिदै गएको जनस्वास्थ्य कार्यालयले दावि गरेपनि कोरोना संक्रमितहरु गाँउ–गाउँमा रहेकाले बाँके बर्दियामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको छ ।

पश्चिम नेपालकै ठूलो सहर नेपालगन्जमा दैनिक भीडभाड बढेको छ । आम नागरिकले सामाजिक दूरी लगाएतका नियम पालना गरेका छैनन् । नेपालगन्ज र आसपासको जनजिवन प्रभावित भएको बेला बाँके प्रहरी, प्रशासन र समग्र सुरक्षा निकायले बुधबार विहान नेपालगन्जमा कोरोना संक्रमणबाट बचौं र बचाऔं, माक्सको प्रयोग गरौं भन्दै सचेतना अभिबृद्धि कार्यक्रम गर्ने भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्री बताँउछन् ।

उनका अनुसार बाँके प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी लगायतको संयुक्त आयोजनामा नेपालगन्जको धम्बोझीबाट सचेतना अभिबृद्धि कार्यक्रम शुरु गरिनेछ । विहान ८ बजेदेखि शुरु हुने उक्त कार्यक्रम नेपालगन्ज नगरका विभिन्न क्षेत्रमा घरदैलो गरि पुग्ने र पाँच हजार नागरिकलाई माक्स वितरण गर्ने तयारी रहेको छ ।

भारतीय बजार रुपैडिहासंग सीमा जोडिएको नेपालगन्जमा भारतबाट नेपाल भित्रिने नागरिकको संख्या नरोकिएकोले जमुनाह सीमानाका क्षेत्रमा पनि सुरक्षा अवस्था कडा पार्नुका साथै आम जिल्लाबासीलाई कोरोना संक्रमणबाट बच्न, सचेत रहन आग्रह गरिएको बाँके प्रहरीले आग्रह गरेको छ ।

बाँके प्रशासन लगायतले जनता कफ्र्यु र सरकारले घोषणा गरेको लकडाउन फिर्ता भएपनि नेपालगन्जसगैं कोहलपुर, खजुरा, गुलरिया, बाँसगढी, भूरीगाउँ, राजापुर लगायतका पालिकाहरुमा दैनिकजसो कोरोना संक्रमितहरु देखिदै आएका छन् । तर, बाँके बर्दियाका स्वास्थ्यसंग सम्बन्धित निकायले आम नागरिकमा कोरोना भए नभएको थाहा पाउन परीक्षणको दायरालाई बढाउन सकेका छैनन । यसले पनि बाँके बर्दियाका पालिकाहरुमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको देखिएकोछ ।