बाढीले एम्बुलेन्ससँगै बगेका ११ जनाको उद्धार


बाढीले एम्बुलेन्ससँगै बगेका ११ जनाको उद्धार

नेपालगन्ज : लमही–घोराही–तुलसीपुर सडकखण्डमा पर्ने खोलामा आएको बाढीले दुईवटा एम्बुलेन्स बगाएको छ ।

बाढीले बुधबार बिहान एम्बुलेन्स बगाएपछि प्रहरी र स्थानीयको सहयोगमा चालकसहित ११ जनाको उद्धार गरिएको छ ।

कपिलवस्तुबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च ८११ नम्बरको एम्बुलेन्स घोराही उपमहानगरपालिका ४ स्थित सिस्ने खोलाले बगाएर १५ मिटर तल पु¥याएको थियो । प्रहरीले डोजरको सहायताले एम्बुलेन्स र त्यसमा सवार चालकसहित ६ जनालाई सकुशल उद्धार गरेको थियो ।

यसैगरी घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ च ८९२ नम्बरको एम्बुलेन्स घोराही ११ स्थित हापुर खोलाले बगाएको थियो । खोलाले २० मिटर तल पु¥याएको एम्बुलेन्स क्रेनको सहायताले निकालिएको थियो । एम्बुलेन्सबाट चालकसहित ५ जनाको सकुशल उद्धार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले बताए ।

लमही–घोराही–तुलसीपुर सडकखण्डका सिस्ने, सेवार, हापुर र पत्रखोलामा बाढी आउँदा यातायात सञ्चालनमा समेत समस्या भएको छ । जीप, कार, मोटरसाइकल, स्कुटर, साइकल जस्ता साना सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।