नेपालगन्ज : बाँके ट्राफिकले प्रहरीसँगको सहकार्यमा नेपालगन्जमा अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने अभियान फेरि शुरू गरेको छ ।
नेपालगन्जका विभिन्न क्षेत्रमा अव्यवस्थित पार्किङ गरिने सवारी साधनलाई कारबाही गर्न ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा बुधबारदेखि अभियान नै थालेको हो ।
नेपालगन्जलाई व्यवस्थित गर्न बुधबार बाँकेका ट्राफिक प्रमुख पविन्द्र बम मात्रै होइन बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना समेत सडकमा उत्रिएका छन् ।
नेपालगन्जका सडकमा सुरक्षाका लागि खटिएका आफू मातहतका प्हरीलाई यहाँको पार्किङ व्यवस्थापन गर्ने निर्देशन दिदैं एसपी राना आफै पनि सडकमा अत्रतत्र छरिएर राखिएका सवारी साधनलाई व्यवस्थित गर्ने र चालकलाई सम्झाउँने काम गर्दै आएका छन् ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीले नेपालगन्जको बिपिचोक, धम्बोझी चोक, पुस्पलाल चोक, खजुरारोड लगायतका क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाएको छ ।
प्रहरीले अव्यवस्थित रुपमा सडकमा पार्किङ गरी राखिएका दर्जन बढी सवारी साधनको टायरमा व्हील लकरको सहायताले ‘लक’ गरी कारबाही गरेको छ ।
सडकमा अव्यवस्थित रुपले जथाभावी पार्किङ गरी राखिएका सवारी साधनले दुर्घटनाको जोखिम निम्तिने हुँदा तथा सहरको सौन्दर्यीकरण पनि कुरुप देखिने हुँदा कारावाही गर्नु परेको बाँकेका एसपी ओमहादुर राना बताउँछन् ।
सडकमा ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई व्हील लकरको माध्यमबाट ‘लक’ गरी कानून अनुसार कारवाही गर्न बाँकेमा अभियान नै थाालिएको एसपी रानाले बताए । एसपी रानाकाअनुसार उपत्यका बाहिर मोफसलमा यो नयाँ प्रयोग हो ।
नेपालगन्ज उपमहानगरका विभिन्न स्थानमा उपमहानगरपालिकासङ्गको समन्वयमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको साधनको लागि छुट्टाछुट्टै पार्किङ स्थल तोकिएको बाँकेका ट्रार्फिक प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम बताउँछन् । तर, यसरी तोकिएको ठाउँमा नराखि सवारी चालकले जथाभावी मनलाग्दी रुपले पार्किङ गर्दा समस्या आएको उनी बताउँछन् ।
‘जिल्लामा अहिले पहिलो पटक २० वटा व्हील लकर आएको उनले बताए । यसैको सहायताले अव्यवस्थित र ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गरीनेछ । उनकाअनुसार कारवाही स्वरुप ट्राफिक नियम अनुसार ५ सय देखि १५ सय रुपैयाँ सम्म जरीवाना गर्न सकिनेछ ।