नेपालगन्ज : ‘मृत्युमार्ग’को उपनामले चिनिने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको एक दर्जन ठाउँमा पहिरो गएको छ । अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको कर्णाली प्रदेश प्रहरी कार्यालय बताउँछ ।
दैखोला, कालेखोला, बगरेखोला, सुनारखोला, टाकुल्लाखोला, गगनेखोला र कालीकोटको नाग्माघाट, खाडाँचक्रलगायतका ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले बताए ।
कर्णाली कारिडोरको कालिकोट सडकखण्डमा पनि विभिन्न ठाउँमा पहिरो गएको एसएसपी बास्तोलाले जानकारी दिए । उनका अनुसार राजमार्गको पहिरो हटाउन ३ वटा डोजरसहितको टोली पहिरो पन्छाउन गएका छन् ।