नेपालगन्ज : लामो समयदेखि काँग्रेसको पहुँचमा रहेको नेपाल रेडक्रस सोसाईटीको सञ्चालक समिति यतिबेला भंग भएको छ । सरकारले डाक्टर नेत्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
मन्त्रीपरिषद्को निर्णयबाट ३३ सदस्य नयाँ पदाधिकारी छनोट गरिएको छ । जसमा नेपाल रेडक्रस सोसाईटी दैलेखका सभापति खेमराज केसी पनि केन्द्रीय समितिको सदस्य पदमा मनोनित भएका छन् ।
यसले रेडक्रसमा वर्षाैंदेखिको काँग्रेसको दादागिरी अन्त्य भएको छ । तर, नयाँ कार्य समितिमा पनि कतिपय सदस्यहरू काँग्रेस निकट अनुहार देखिएका छन् । सरकारले सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मन्त्रिपरिषद बैठकले थापा नेतृत्वको कार्यसमिति भंग गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
आर्थिक अनियमिततामा मुछिनुका साथै समयमा अधिवेशन गर्न नसकेको भन्दै थापा नेतृत्वको कार्यसमिति भंग गरेको हो । रेडक्रसले राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । यसले विपत्तिको अवस्थामा मानवलाई सहयोग पु¥याउँदा उनिहरुको आवश्यकतालाई मात्र ध्यानमा राख्दछ र सबभन्दा बढी विपत्तिमा परेकालाई प्राथमिकता दिन्छ भन्ने उद्देश्य राखेको छ ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी २०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डाक्टर नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । पवित्र संस्थाका रुपमा स्थापना भएको रेडक्रमा पछिल्लो समय आर्थिक अनियमिताका थुप्रै घटनाहरू बाहिरदै आएका छन् । यसले पवित्र संस्था बदनामीमा परिणत भैरहेको छ ।
सोसाइटीका निर्देशक दिव्यराज पौडेलले तदर्थ समिति गठन भएको जानकारी प्राप्त भएको बताएका छन । निर्धारित मितिमा महाअधिवेशन नभएपछि अघिल्लो कार्यसमितिको म्याद गत असार मसान्तमा स्वतः समाप्त भएको थियो । सोसाइटीमा विवाद चुलिँदा महाधिवेशन प्रभावित भएको हो ।