नेपालगन्ज : बिहीबार नेपालमा थप २७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा यस्तो जानकारी दिएका हुन् ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ ।
यस्तै देशभरबाट बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५२ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ३ सय ४ जनाको स्वाब परीक्षण गरिएको थियो ।
यसैबीच नेपालगन्जमा बिहीवार एकैदिन थप २० जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा विभिन्न जिल्लाका गरी बिहीवार एकैसाथ ३६ जनामा संक्रमण देखिएको हो ।
आन्तरिक राजश्व कार्यालयमा केही दिनअघि कर अधिकृतमा कोरोना देखिएपछि कार्यालय शील गरि कर्मचारी र सेवाग्राहीको स्वाब संकलन गरि परीक्षण गरिएकोमा ११ जनामा संक्रमण देखिएको छ । तिमध्ये ३ जना नेपालगञ्ज र १ जना राप्ती सोनारीका हुन् ।
यसैगरी नेपालगञ्ज ११ मा मात्रै १३ जना कोरोना संक्रमित देखिएका छन् । भेरी अस्पतालस्थित प्रयोगशालामा रहेको पिसिआर मेशिनमा प्रयोग हुने रियाजेन्टमा देखिएको समस्या लकडाउनले गर्दा केन्द्रबाट हुने आपुर्ती प्रकृयामा विलम्ब तथा प्रयोगशालाको आन्तरिक गुणस्तर मापनमा देखिएको त्रुटीका कारणले पिसिआरको नतिजा आउन ढिलाइ भएको अस्पतालले जनाएको छ । बुधवार १७३ नमुना सुर्खेतस्थित कर्णाली प्रदेशको प्रयोगशालामा पठाइएकोमा नतिजा प्राप्त भएको अस्पतालले जनाएको छ