विद्यालय खोल्न क्वारेन्टिन र आइसोलेसन हटाउदै सरकार


विद्यालय खोल्न क्वारेन्टिन र आइसोलेसन हटाउदै सरकार

File Photo

नेपालगन्ज : देशमा कोरोना भाइरस संक्रमण बढिरहदाँ यसअघि स्थापना गरिएका क्वारेन्टिन र आइसोलसन सरकारले हटाउने भएकोछ ।

सरकारले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय गरेपछि देशभरका उक्त क्वारेन्टिन र आइसोलेसन हटाइन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री एबम सरकारका प्रवक्ता समेत रहेका डाक्टर युवराज खतिवडाले मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले शैक्षिक शत्र २०७७/७८ को विद्यार्थी भर्ना भदौ १ देखि शुरु गर्ने यसअघि निर्णय गरेको थियो । सो निर्णय लागु हुन करिब १५ दिन बाँकी रहदाँ विद्यालय परिसमा रहेका क्वारेन्टिन र आइसोलेसन तत्काल हटाउने र ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने समेत भएको सरकारका प्रवक्ता डाक्टर खतिवडाले बताए ।

यस्तै सरकारले विद्यालय आउन जान असर हुने गरी कोरोना महामारी रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने समेत निर्णय भएको उनले बताए ।

यसैगरी सरकारले ०७६/७७ को नतिजा प्रकाशन बाँकी भए तत्काल गर्ने, भदौ १ देखि विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको संख्या यकीन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने र शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।

पछिल्लो समय देशमा कोरोना भाइरस संक्रमण दर तिव्र गतिमा बढेकोछ । भने नेपालमा मृत्यु हुनेको संख्या पनि ५१ पुगिसकेको छ । साथै अझै पनि देशभरका विभिन्न आइसोलेसन र क्वारेन्टिनमा बस्नेहरुको संख्या नघटेको अवस्था छ ।