३२ वर्षदेखि अलपत्र कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण योजना शुरू
File Photo
नेपालगन्ज : ३२ वर्षदेखि बेवारिस कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइन विस्तार योजनाको काम शुरू हुने भएको छ । यसका लागि सुरुवाती लागत ७० करोड बजेट कायम गरिएको छ । झण्डै ७० करोड रकममा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार अबको दुई वर्षमा कम्पनीले तोकिएका कामहरु पुरा गरिसक्नुपर्ने छ । तर, दुई वर्षमै आयोजना सम्पन्न हुने विषयमा आयोजना आफै ढुक्क भने छैन । यो योजनाबाट बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुनेछन् । आयोजना कार्यान्वयनको चरणमा प्राविधिक कठिनाइहरु नआएको खण्डमा भने तोकिएकै समयमा काम सम्पन्न अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेशको ड्रिम प्रोजेक्टका रुपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि सुरु हुन लागेको हो । यो आयोजनाका लागि यहाँका बासिन्दाले वर्षौदेखि प्रतिक्षा गरिरहेका थिए । लामो प्रयासपछि यो आयोजनाले १३२ केभिए विद्युत प्रशारण लाइन विस्तारका लागि निर्माण सम्पनीसँग सम्झौता गरेको छ ।
निर्माण सम्झौता भएसँगै कोहलपुरदेखि सुर्खेतसम्म जोड्ने विद्युत लाइन विस्तारको काम अगाडि बढ्ने भएको हो । गएको असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ सँग निर्माणका लागि सम्झौता गरेको हो । योसँगै अब निर्माण कम्पनीले विद्युत लाइन प्रशारणको लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरीद लगातका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।
आयोजनाका प्रमुख रवीकुमार चौधरीका अनुसार पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रुख कटान लगायतका कामहरु हुनेछन् । आजभन्दा झण्डै ३२ वर्ष पहिले अर्थात २०४५ सालमै १३२ केभिए प्रशारण लाइन सुर्खेतसम्म ल्याउने कसरत थालिएको थियो । तर लामो समयसम्म विद्युत लाइन विस्तार हुन सकेको थिएन । यसले गर्दा यस क्षेत्रमा विद्युत सेवा भरपर्दो थिएन । उपभोक्तालो सास्ती भोगिरहेका छन् ।
तर १३२ केभिए लाइन विस्तार भएमा यस क्षेत्रको विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । साथै अहिलेको लोभोल्टेजको समस्या पनि समाधान हुनेछ । लाइन विस्तार नभएकै कारण सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले लोभोल्टेजका कारण हैरानी भोग्दै आएका छन् । आयोजना सम्पन्न भएपछि कर्णाली प्रदेशलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । आयोजना विस्तारका लागि स्वास्थ्य राज्यमन्त्री एवम् सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य नवराज रावतको विशेष पहल रहेको छ । उनले यसका लागि लामो समयदेखि पहल गरिरहेका छन् । कोहलपुरदेखि सुर्खेतसम्म कुल एकसय ४५ वटा पोल रहने छन् । जसमा २६ वटा एंगल टावरहरुको प्रस्ताव गरिएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार आयोजना क्षेत्रको उचाईगत फरक एकसय ६० मिटरदेखि एकहजार एकसय १५ मिटरसम्म रहेको छ । प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ । जसमा प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वनको क्षेत्र, १६ दशमलव १३५ खेतीयोग्य जमिन, २ दशमलव २६५ बाजो जमिन, तथा ११ दशमलव ०६५ अन्य भागले ओगटेको छ । विद्युत प्रसारण लाइन विस्तार कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल दुईसय २५ वर्गमिटर हुनेछ ।
आयोजना कार्यान्वयन गर्दा कूल ९८ दशमलव ०५७९ हेक्टर जग्गामा टावर निर्माण, सव–स्टेशन तथा क्षत्राधिकारको लागि आवश्यक पर्नेछ । जसमध्ये ३ दशमलव ७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३ दशमलव ३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ । बाँकी ९१दशमलव ०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ । आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुनेछन् ।
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइनको विस्तार गर्दा झण्डै सात हजारभन्दा बढी रुखहरु कटान हुनेछन् । आयोजनाका प्रमुख चौधरीले दिएको जानकारी अनुसार कोहलपुरदेखि सुर्खेतसम्म सात हजारभन्दा बढी रुखहरु काटिने भएका हुन् । निकुञ्ज क्षेत्र भएर लाइन विस्तार हुने भएकाले पनि धेरै रुख काट्नुपर्ने अवस्था आएको हो ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग रुख कटानका लागि अनुमति मागिएको र फाइल वातारण मन्त्रालयमा फाइल पेश भएको छ । रुख कटानका लागि मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्छ । मन्त्रीपरिषदले निर्णय गरेपछि मात्रै रुखहरु काट्न सुरु गरिने आयोजना काप्रमुख चौधरीले जानकारी दिए । रुख कटानको अनुमति नपाउँदासम्म निर्माण कम्पनीले प्राविधिक कामहरु गर्नेछ । आयोजनाको कुल लम्बाई करिब ५१।४६२ किलोमिटर लम्बाई डबल सर्किटको रहने प्रस्ताव गरिएको छ ।