थप ४२ जनामा संक्रमण पुष्टि हुदाँ ११ जना स्वास्थ्यकर्मी पोजेटिभ
नेपालगन्ज: नेपालमा कोरोना भाइरस संक्रमित ५५ जनाको मृत्यु भएको छ । गएराती नै वीरगञ्जमा थप २ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये एक जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थायी ठेगाना भएका ३५ वर्ष पुरुष छन् । उनलाई ५ गतेदेखि ज्वरोको लक्षण देखिएको थियो ।
उनलाई स्थानीय विभिन्न अस्पतलामा उपचार गरिएको थियो । तर, ठीक नभएपछि उनी साउन १३ गते नारायणी अस्थायी कोभिड अस्पताल भर्ना भएका थिए । उनको साउन १५ गते साँझ साढे ७ तीर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
यस्तैगरी, वीरगञ्ज महानगरपालिकास्थित छपकैया टोलका अर्का एक मृतकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ज्वरोको लक्षण देखिएका ६५ वर्षीय ती पुरुष अस्पताल भर्ना भएका भने थिएनन् । उनको घरमा नै मृत्यु भएको र मृत्युपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको मृत्यु भएपछि प्रहरीले अस्पतालमा खबर गरेको थियो ।
यसैगरी, वीरगञ्जमा उपचाररत जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को मृत्यु भएको छ । मुटुका बिरामी समेत रहेका उनको नारायणी कोभिड अस्थायी अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर मदन उपाध्यायका अनुसार उनको गएराती साढे ११ बजे मृत्यु भएको हो । ५६ वर्षीय उनी भारतीय नागिरक हुन् । उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि साउन ७ गते अस्पताल भर्ना गरिएको थियो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेण्ट डाक्टर उपाध्यायका नुसार बिहिवार राती संक्रमण पुष्टि भएका ४२ जना मध्ये ११ जना स्वास्थ्यकर्मी र तीन जना मृगौला रोगी रहेका छन् ।
यस्तै मास ट्रेसिङमा पीसिआर जाँच गराएका ११ जना, स्वेच्छाले पैसा तिरेर पीसिआर जाँच गराएका २ जना, लोटस फर्माका कर्मचारी १ जना, मेग्न्स फर्माका कर्मचारी ३ जना ,पर्सा जिल्लाका ८ जना, बारा जिल्लाका २ जना र रौतहट जिल्लाका १ जना रहेकाछन् ।