नेपालगन्ज : बाढी पहिरोका कारण कर्णाली प्रदेशमा मात्रै ३५ जनाले ज्यान गुमाएकाछन् ।
मनसुन शुरु भएयता बाढी र पहिरोमा परी कर्णाली प्रदेशका विभिन्न जिल्लामा ३५ जनाको मृत्यु भएको हो । भने बाढी पहिरोमा परि प्रदेशका ९ जना अझैं बेपत्ता रहेकाछन् । बेपत्ता हुनेहरु कालिकोट र जाजरकोटका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको शुक्रबार दिउँसोसम्मको अध्यावधिक तथ्यांकअनुसार सबैभन्दा बढी जाजरकोटमा १५ जनाले ज्यान गुमाएकाछन् । यस्तै दोस्रोमा कालीकोटमा १३ जना, रुकुम–पश्चिममा ४ जना, सुर्खेत, दैलेख तथा सल्यानका एक÷एक जना गरि ३५ जनाले ज्यान गुमाएका छन् । भने २५ जना घाइते भएका छन् ।
यसैबीच, अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु भएको छ । यसअघि बाढीमा बेपत्ता भएका भजनी नगरपालिका–८ का ३२ वर्षीय चन्द्र विकको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीको काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका–८ का ३ जना बेपत्ता भएका थिए । बिहीबार भजनी नगरपालिका–८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी र शुक्रबार बिहान सोही ठाउँका ४० वर्षीय ईश्वर शाहीको शव फेला परिसकेको थियो ।