नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो साता भ्रष्टाचारीमाथि केन्द्रबाटै निगरानी बढाएको छ । असार मसान्तसँगै देशभर घुस लेनदेन बढेको सूचनापछि अख्तियारले केन्द्रीय कार्यालय काठमाडौँ र देशभरका अन्य कार्यालयलाई एलर्ट गरेको छ । आर्थिक वर्षको अघि र केही समय पछिसम्म विकास निर्माणमा भ्रष्टाचार हुने गरेको उजुरी आएपछि अख्तियारले क्रियशिलता बढाएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् ।
अख्तियारले सक्रियता बढाएसँगै पक्राउ पर्नेमा अधिकांश सरकारी कर्मचारीछन् । सेवा सुविधा बढाउनमात्रै आन्दोलनमा अब्बल रहदै आएका कर्मचारीहरू मध्ये केही घुसमा समेत अब्बल हुने गरेको देखिएको छ । भ्रष्टाचारीलाई नियन्त्रणमा लिन कतिपय घटनामा त क्षेत्रीय कार्यालयलाई समेत थाहा नदिई केन्द्रीय कार्यालयबाट पठाइने गरिएको प्रवक्ता अधिकारी बताउँछन् । तल्लो तहका कर्मचारीलाई मात्र पक्राउ गरेको आरोप खेपिरहेको अख्तियारले केही ठूला अप्रेसन पनि गरेको छ ।
बिशेष स्टिङ अप्रेशनकै रूपमा बढेको अख्तियारको सक्रियताले दुई साातमा प्रस्तावित लुम्बिनी प्रदेशका बाँके, दाङ, रूपन्देही लगायतका जिल्लाबाट मात्रै मझौला र केही ठूला माछालाई पक्राउ गरेको छ । ठुला माछा पक्राउ गर्न असफल भएको अख्तियारले साना छोडेर मझौला माछालाई पक्राउ गर्नुलाई पनि उसको स्टिङ अप्रेशनको सफलताका रूपमा हेरिएको छ ।
एक साताअघि भेरी अस्पतालका कम्प्युटर अप्रेटरलाई १६ लाखबढी नगदसहित रगेहात पक्राउ गरेको अख्तियारले यहि साता दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई पनि नियन्त्रणमा लिएको आयोगको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणि पाण्डे बताउँछन् ।
नेपालगन्जको भेरी अस्पतालबाट पक्राउ परेका कम्प्युटर अपरेटर अरूणराज खनाल यतिबेला अख्तियारको केन्द्रीय कार्यालयमा अनुसन्धानका क्रममै छन् । अख्तियारले उनीसँगै भेरी अस्पतालका सहायक लेखापाल प्रेम खत्रीसहित थप एकजना अधिकारीमाथि पनि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा आबश्यक देखिए अस्पतालमा कार्यरत अन्य तीनजना व्यक्तिलाई पनि काठमाडौं झिकाउँने तयारीमा अख्तियार रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको अख्तियारका केन्द्रीय प्रवक्ता अधिकारी बताउँछन् ।
प्रवक्ता अधिकारी अनुसार उपाध्याय स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो । उनीमाथि शनिबार अनुसन्धान भइरहेको छ ।
अख्तियारको बुटवलस्थित कार्यालयले यहि साता रुपन्देहीमा दुईवटा स्टिङ अप्रेशन गरेको छ । सोही अप्रेशनबाट रुपन्देहीमा अलग–अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको आयोगका बुटवल प्रवक्ता सुरेश भुसाल बताउँछन ।
उनकाअनुसार उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । यअघिल्लो साता पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भैरहेको उनी बतउँछन् ।