हाईमास्ट बत्ति जडानमा होडबाजी


हाईमास्ट बत्ति जडानमा होडबाजी

File Photo

नेपालगन्ज : बाँकेका जनप्रतिनिधीबीच यतिबेला हाईमास्ट जडान गर्ने होडबाजी चलेको छ । नेपालगन्जको विपी चोकमा नेपालगन्ज उपमहानगरपालिकाले एक वर्षअघि जडान गरेको थियो । अहिले उपमहानगरपालिकाको वडा नम्बर १८ मा दुईवटा हाईमास्ट जडान गरिएको छ । तर, यी हाईमास्ट जडान गर्दा त्यस ठाउँका लागि ती मास्ट जरूरी हुन कि होइनन् यसको आवश्यकता मुल्याङकन भने गरिएको देखिदैन् ।
वडा नम्बर १८ को कारकाँदो र एसके पेट्रोल पम्प नजिक जडान गरिएको दुईवटा हाईमास्टको जडान लागत १६ लाख ५० हजार बजेट खर्च भएको छ ।

उपमहानगरपालिकाको विपी चोकमा जडान गरिएको हाईमास्टको लागत अलि बढिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा नौ वटा हाईमास्ट जडान गर्ने योजना रहेको उपमहनागरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा बताउँछन् ।

उनकाअनुसार वीरेन्द्र चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, पुष्पलाल चोक, सेतुविक चोक, त्रिवेणीमोड र फुल्टेक्रा चोकमा हाइमास्ट जडान गर्ने योजना रहेको छ । उनले भने ‘कारँकादो चोकमा जडान भैसकेको छ ।’ हाईमास्ट निर्माणका लागि फाउण्डेसनको काम मात्र भएकोछ । यसअघि जडान गरिएको हाइमास्टसगैं उपमहानगरपालिकामा अब १२ वटा हाइमास्ट लाईट हुनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाले यसरी हाइमास्क जडान अभियान चलाएसँगै यतिबेला कोहलपुर नगरपालिकाले पनि उपमहानगरसँगै प्रतिस्पर्धा गर्दैछ । कोहलपुरका १५ स्थानमा हाईमास्ट बत्ति जडान कार्य शुरु गरिएको छ । तर, नेपालगन्ज उपमहानगरपालिकामा जडान गरिन लागेको हाइमास्ट निर्माणमा ढिलाई भएको छ । कोहलपुर नेपालगन्ज सडक खण्ड र मुख्य बजार क्षेत्रमा हाईमास्ट बत्ति जडान शुरु गरिएको हो ।

शहरी बिकास मन्त्रालयको सहयोगमा उक्त बत्ति जडान सुरु गरिएको हो । कोहलपुरलाई थप सौन्दर्यकरण गर्न र रातको समयमा हुन सक्ने दुर्घटना रोक्न आफुहरुले हाईमास्ट बत्ति जडानका लागि गरेको मन्त्रालयमा प्रस्ताव दर्ता गरिए अनुसार मन्त्रालयले जडानका लागि सहयोग गरेको हो । आउँदो दशै अघि कोहलपुरमा १५ वटा हाइमास्ट बत्ति जडान गरि सकिने कोहलपुर नगरपालिकाले बताएको छ । १५ ओटै वडाका लागि १५ थान हाइमास्ट बत्ति जडान गर्न लागिएको हो ।

नेपालगन्ज र कोहलपुरमा मात्रे होइन खजुरा क्षेत्रका विभिन्न ठाउँमा पनि केही समयमा हाइमास्ट नै जोडने योजना बनिरहेको गाउँपालिका अध्यक्ष किस्मत कक्षपति बताउँदै आएका छन् । तर, यी तीनवटै पालिकामा हाइमास्ट बत्ति जडान कतिको महत्वपूर्ण, आवश्यकता हो यसबारे कसैले पनि ध्यान दिएको छैन् ।

उपमहानगरपालिकाको विभिन्न ८ वटा चोकमा हाईमास्ट जडान गर्ने भन्दै २०७६ बैशाख ३१ गते ठकेदार कम्पनी काठमाण्डौं एनर्जी प्रालि र नेपालगन्ज उपमहानगरपालिकाविच सम्झौता भएको थियो । सम्झौताअनुरुप ठेकेदार कम्पनीले २०७६ असार २१ गतेभित्र उपमहानगरपालिकाको ८ स्थानमा हाईमास्ट जडान गरिसक्नुपर्ने थियो । तर, ठेकेदारको चरम लापरबाही र बदमासीले उपमहानगरपालिकामा हाईमास्ट जडानका लागि विनियोजित रकम समेत फ्रिज बनेकोछ ।

ठेकेदार कम्पनी काठमाण्डौं एनर्जी प्रालीको चरम लापरबाही र बदमासीका कारण हाईमास्ट जडाका लागि विनियोजित ५८ लाख १६ हजार ३ सय ४३ रुपैयाँ यसअघि फ्रिज भएको थियो ।