बाँकेमा निषेधाज्ञा जारी, कोरोना परीक्षणको मापदण्ड परिवर्तन


बाँकेमा निषेधाज्ञा जारी, कोरोना परीक्षणको मापदण्ड परिवर्तन

सुनसान त्रिभुवन चोक । तस्विर : कमल न्यौपाने/ सेतोखरी

नेपालगन्ज : कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै बाँकेमा स्थानीय प्रशासनले आइतबार देखि निषेधाज्ञा जारी गरेको छ । उक्त निषेधाज्ञा तीन दिनसम्म निरन्तर रहने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

नेपालगन्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएका थिए । त्यसपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले बाँकेमा तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिनेछ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति भएका गाडी मात्र सञ्चालनमा आएका छन् ।

पछिल्लो पटक सङ्क्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कन्ट्रयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।

आन्तरिक राजश्व, यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवनचोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् ।

उनका अनुसार नेपालगन्जका तीन आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ सङ्क्रमितलाई राखिएको छ । बाँकेमा आइतबारसम्म कोरोनाबाट दुईको मृत्यु भइसकेको छ । सङ्क्रमितको सङ्ख्या ४ सय ३७ पुगेको उनी बताउँछन् ।

कोरोनाको संक्रमण बढेसँगै गरिएको दोस्रो पटकको निषेधाज्ञाका क्रममा आइतबार विहानैदेखि नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजारहरू पूर्ण रूपमा बन्द छन् । यहाँका आठ वटै स्थानीय तहले बाँके प्रशासनको निर्देशन कार्यान्वयनमा बल गरेको देखिएको छ । सरकारको निर्देशनमा भर्खरै खुल्न लागेको होटल व्यवसाय भने दोस्रो निषेधाज्ञाले झनै मारमा परेको नेपालगन्ज होटल व्यवसायी संघका अध्यक्ष भीम कँडेल बताउँछन् ।

यसैगरी बाँके र बर्दियामा कोरोनाका विराम िबढेका छन् । अहिले सरकारको स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण सम्बन्धी मापदण्ड समेत तयार गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ, जसलाई जनस्वास्थ्य विज्ञहरुले सकारात्मक भनेका छन् ।

नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिने भएको छ ।

संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर टेष्ट गरिने भएको छ ।

मापदण्डअनुसार लक्षण (ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला) सहितका सबै बिरामी, सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू, गम्भीर श्वासप्रश्वासजन्य समस्याका बिरामीहरू, विदेशबाट आएका सबै मानिस, फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरू लगायतका व्यक्तिको स्वास्थ्य परीक्षण गरिनुपर्ने छ ।