नेपालगन्ज : कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले गत वर्ष चैत्र ११ गते देश लकडाउन गर्यो । लकडाउनसगैं कोरोना संक्रमित भेटिएका क्षेत्रमा परीक्षणको दायरा बढायो । सरकारको लकडाउनले देशको सवैक्षेत्र प्रभावित बन्यो ।
अन्ततः सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि आम जनताको जनजीवन सहज बनिरहेका बेला समुदायमै कोरोना भाइरस फैलिएपछि बाँके लगायतका विभिन्न जिल्ला निषेधाज्ञासगैं लकडाउन गरिएकोछ ।
लकडाउन खुलेसगैं नेपालमा हालसम्म २० हजार ८६ जनामा कोरोना सङ्क्रमण भएकोमा १४ हजार ४ सय ९२ जना उपचारपछि फर्किएका छन् । जसमा ५७ जनाको निधन भएको छ भने ५ हजार ५ सय ३८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।
यसबीच कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईंले लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा नागरिको हातमा रहेको बताउँछन् ।
भारतबाट आउनेहरूलाई सिमानामै पीसीआर परीक्षण गरेर क्वारेन्टिनमा राख्ने र त्यसो गर्दा कोरोना नफैलिने अपेक्षा लिएको प्रवक्ता गुरागाईंले बताए ।
दैनिक १० हजारसम्म स्वाब सङ्कलन गर्ने, बाहिरबाट आएकाहरूको कन्ट्याक्ट ट्रसिङका आधारमा परीक्षण गर्ने र सङ्क्रमण फैलिन नदिने सरकारले नीति लिएको उनले बताए । अहिले नेपालमा औसत दैनिक ३ सय हाराहामीमा सङ्क्रमित फेला परिरहेका छन् ।
उनले सबै पक्ष सचेत हुदैं मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाउने हो भने सङ्क्रमणको दर कम हुने र लकडाउन नहुने बताए ।