कोरोना सन्त्रासकाबीच फेरियो जनै, बाँधियो रक्षाबन्धन


कोरोना सन्त्रासकाबीच फेरियो जनै, बाँधियो रक्षाबन्धन

नेपालगन्ज : पछिल्लो पटक बाँकेमा कोरोना भाइरस संक्रमण बढेसगैं यहाँको जनजिवन झन कष्टकर बनेको छ । आम नागरिकमा कोरोना भाइरसको सन्त्रास छ । त्यही सन्त्रासका बीच आम नागरिकले आफ्नो दिनचर्या गरिरहेकाछन् ।

कोरोना भाइरस संक्रमणकै कारण गत वर्ष चैत्र ११ गतेदेखि सरकारले लगाएको लकडाउन पछिल्लो पटक १२० दिन पछि खुला गरेको थियो । लकडाउन खुला भएसगैं आम नागरिकको जनजिवन सामान्य बन्दै गएका बेला कोरोना भाइरस समुदायमा फैलिएपछि बाँके प्रशासनले हिजो आईतबारदेखि तीनदिनका लागि बाँकेमा निषेधाज्ञा लागु गरेकोछ ।

यद्यपी निषेधाज्ञाकै दिन हिन्दुहरुको पर्व रक्षा बन्धन तथा जनैपूर्णीमा परेकाले आवश्यक पसल तथा निजि सवारी साधन चल्न दिइएको छ । यसले आम नागरिकलाई पर्व मनाउन केही सहजता दिएता पनि कोरोना भाइरस संक्रमणका कारण यस वर्षको पर्व पहिले जस्तो भएको छैन ।
यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण भीड कम गर्न सरकारले आह्वान गरेको छ । कुनै पनि समारोह वा उत्सव आयोजना गर्दा भौतिक दूरी कायम गरी २५ जनाभन्दा कम उपस्थित हुनुपर्ने नियम छ । त्यसैले गर्दा पनि आम नागरिकहरु घरमै बसेकाछन् ।

यही कोरोना भाइरस संक्रमणको त्रासकाबीच आज बाँके सहित देशभरका हिन्दु धर्मावलम्बिहरुले रक्षाबन्धन तथा जनैपुर्णिमा (ऋषि तर्पणी) मनाउदैछन् ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँन्छ । आजकै दिन नेपालको तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी (रक्षाबन्धन) बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यसदिन पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । भने गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षाशूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

यस्तो छ धार्मिक मान्यता

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राहृमण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागो भनिन्छ । 

यस दिन देशका यी क्षेत्रमा मेला लग्छ

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाका कारण उत्सव छैन भने कतिपय स्थानका मेला स्थगित गरिएकोछ । 

बाँकेको नेपालगन्जमा रहेको बागेश्वरी लगायत मन्दिर, ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाको भएकै कारण उत्सव देखिएन । बागेश्वरी मन्दिर बन्द भएका कारण दर्शनार्थीहरूले बाहिरबाटै मन्दिरको दर्शन गरी पुजाआर्जा गरेका थिए । यस पर्वका अवसरमा केही वर्षअघिसम्म सार्वजनिक बिदा दिर्ने गरिएकामा हाल सरकारले कटौती गरेको छ ।