कोरोना हटस्पट बनेसगैं नेपालगन्ज उपमहानगरपालिका सिल

जनप्रतिनिधी सहित ७ कर्मचारी संक्रमित


कोरोना हटस्पट बनेसगैं नेपालगन्ज उपमहानगरपालिका सिल

नेपालगन्ज : बाँके प्रशासनले निषेधाज्ञा जारी गरेसगैं बढाइएको कोरोना भाइरस परीक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा संक्रमितको संख्या दैनिक भेटिएकोछ ।

यातायात, आन्तरिक राजश्व र जिल्ला अदालतमा गरिएको कर्मचारीको स्वाब परीक्षणका क्रममा केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त्रसित भएको बाँकेको सरकारी संयन्त्र यतिबेला उच्च जोखिममा देखिएकोछ ।

यी तीन सरकारी कार्यालयसगैं बाँकेको नेपालगन्ज उपमहानगरपालिका यतिबेला कोरोना संक्रमणको हटस्पटका रुपमा देखिएकोछ । सोमबार विहान प्राप्त भेरी अस्पताल नेपालगन्जको तथ्यांक अनुसार उपमहानगरपालिका एक शाखा अधिकृतसहित वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालमा कोरोना भाइरस सक्रमण देखिएकोछ ।

अहिले साढे २ बजेको भेरी अस्पताल स्थित कोरोना भाइरस जाँच प्रयोगशालाको रिपोर्ट अनुसार नेपालगन्जका ९ सहित सल्यानका २ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । जसअनुसार नेपालगन्ज उपमहानगरपालिकाका ६ जना कर्मचारी रहेको अस्पतालले जनाएकोछ । संक्रमित हुनेहरुमा एक वडा अध्यक्ष, २ वडा सचिव, ४ जना अधिकृत र एक जना कम्प्युटर अपरेटर रहेकाछन् ।

यसले पनि उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या अझैं बढ्ने देखिन्छ । नेपालगन्ज उपमहानगरपालिका यतिबेला कोरोना भाइरसको हटस्पट का रुपमा देखिएको पुष्टि भएकोछ । यसअघि जिल्ला अदालतमा पाँच जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएको थियो ।

पछिल्लो समय स्वास्थ्य कार्यालय यहाँका सरकारी कार्यालय र आम नागरिकको स्वास्थ्य परीक्षणलाई तिव्रता दिएसगैं बाँकेमा कोरोना संक्रमितको संख्या बढ्नेक्रम जारी छ । तर, उचित र मापदण्डअनुसारका आइसोलेसन र क्वारेन्टिन प्रयाप्त नहुदाँ कोरोना भाइरस संक्रमण देखिएका र बाहिरबाट आएका ब्यक्तिहरुलाई सुरक्षितरुपमा ब्यवस्थापन गर्न समेत अप्ठ्यारो भइरहेको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताउँछन् ।

यसअघि बनाईएका क्वारेन्टिन र आइसोलेसनहरु सम्बन्धित पालिकाले हटाईसकेको छ । र अहिले कोरोना संक्रमणको जोखिम बढेपछि जनस्वास्थ्यको निर्देशनमा बाँकेका स्थानीय तहरुले पुनः क्वारेन्टिन निर्माण गर्ने काम शुरु गरेका छन् ।

बाँकेको खजुरामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढेकोछ, फोकल पर्शन श्रेष्ठले भने–‘आईसोलेशनको क्षमता कम भएकाले संक्रमित विरामी कहाँ कसरी ब्यवस्थापन गर्ने अहिले समस्या देखिएको छ । उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्षलाई कोरोना भाइरस संक्रमण देखिएपछि सोमबार विहान १० बजेसम्म उनलाई कहाँ राख्ने भन्ने विषयमा समस्या देखिएको थियो ।’ फोकल पर्शन श्रेष्ठले अगाडी थपे–‘जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको छलफल र आइसोलेसन कक्ष व्यवस्थापन पछि वडाअध्यक्ष रिजाललाई खजुरा लगिएकोछ ।’

तर, आइसोलेसनको अभावमा नेपालगन्ज आन्तरिक राजश्व कार्यालयमा भेटिएका पाँच जना कर्मचारीलाई भने सोही कार्यालयमै आईसोलेसन कक्ष खडा गरि त्यहीँ राखिएकोछ । यसले पनि बाँकेमा कोरोना संक्रमित बढ्दै जादाँ आइसोलेसन र क्वारेन्टिनको अभाव हुदै गएको प्रष्ट हुन्छ ।
कोरोना संक्रमणको अत्यधिक जोखिममा देखिएसगैं नेपालगन्ज उपमहानगरपालिकामा सोमबार दिउँसोदेखि कार्यालयका सवै कामकाज बन्द गरिएकोछ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काद्वारा जारी सूचनाअनुसार उपमहानगरपालिका अर्को सूचना नहुदाँसम्म सिल गरिएको उल्लेखछ । कोरोना संक्रमणका कारण जनप्रतिनिधी र कर्मचारी संक्रमित भएर उपचारमा भएकाले विरामी निको भइ उपमहानगरपालिकामा कोरोनाको सन्त्रास नहट्दासम्म कार्यालय बन्द रहने उल्लेख गर्दै उक्त सूचनामा यसअवधिमा आम सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थि छौं भनिएको छ ।