कोरोनाको सन्त्रास : ‘रूपैयाँ’ मा समेत सेनिटाइजर


कोरोनाको सन्त्रास : ‘रूपैयाँ’ मा समेत सेनिटाइजर

सेवाग्राहीबाट बिलअनुसार लिइएको रकम राख्नु अघि सेनिटाईज गर्दै एशोदा मेडिकलका स्वास्थ्यकर्मी सीता चौधरी । तस्विरः कमल न्यौपाने /सेतोखरी

नेपालगन्ज : बाँकेसहित देश नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँके लकडाउनको अवस्थामा छ ।

लकडाउन भएपनि हरेक कामका लागि पैसाको आवश्यकता अपरिहार्य छ । ती आवश्यकता परिपूर्तिका लागि बैंक तथा वित्तीय संस्था वा त्यसले सञ्चालन गरेको एटिएमसम्म जानुपर्ने हुन्छ ।

एटिएममा गएर पैसा त निकाल्छौँ तर, त्यो कति सुरक्षित छ त ? भन्ने प्रश्न उठ्छ । अहिले बैंकमा मात्रै नभई पसल, मेडिकल आदी व्यवसायी केन्द्रमा धेरै पैसाको कारोबार हुने गरेको छ । पैसाका माध्यमबाट कोरोना भाइरसलगायत विभिन्न सङ्क्रमण फैलिने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले देखाएको छ । 

अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ ।

चिकित्सकहरूले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करीब २ सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् । यसैले यसबाट बच्न नेपालगन्जका कतिपय मेडिकलहरूले पनि विविध उपाय अपनाएका छन् ।

सुर्खेतरोडका कतिपय पसल, व्यवसाय, औषधी बिक्रि केन्द्रमा सेवाग्राहीबाट सिधै रूपैयाँ सञ्चालक अर्थात कमाउण्टरवालाले बुझदैनन् । कतिपय मेडिकल वा पसलमा सेनिटाइजरसहितको झोल भाँडोमा राखिएको छ ।

सेवाग्राहीले सामान वा औषधी खरिदपछि बिलअनुसारको रकम त्यहि रेनिटाइजर भएको भाँडोमा राख्नुपर्छ । जहाँबाट पसलका व्यक्तिले चिम्टीको प्रयोग गरी त्यो रूपैयाँलाई सेनिटाइजरमा धोएर सुकाउँछन अनि मात्र घर्रामा राख्ने गरेका छन् । यसले आफू र आफनो स्टापका साथै साथीभाई समेत सुरक्षित हुने यशोधा मेडिकलका स्वास्थ्यकर्मी सीता चौधरी बताउँछिन् । उनले पनि हरेक दिन सेवाग्राहीबाट औषधी बक्रिपछि लगिने बिलअनुसारको रकम यसरी नै सेनिटाइजरमा धोएर मात्र लिने गरेकी छन् ।

पैसामा ३ हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखापरेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा ८ प्रकारका व्याक्टेरिया देखिएका थिए । कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य संगठनले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।