बाँकेका ७ सरकारी कार्यालय सिल


बाँकेका ७ सरकारी कार्यालय सिल

नेपालगन्ज : बाँकेमा कोरोना सनत्रास बढेसँगै नेपालगन्जका बुधबारसम्म सात वटा सरकारी कार्यालय सिल गरिएका छन् ।

नेपालगन्जमा पहिलो पटक यातायात व्यवस्था कार्यालय बाँकेका एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । यतिबेला यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज कारागार, वडा प्रहरी कार्यालय नेपालगन्ज र ईलाका प्रहरी कार्यालय कोहलपुरमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकीय कामबाहेक अनिश्चितकालका लागि सिल गरिसकिएको छ ।

सेवाग्राहीको अध्याधिक चाप हुने कार्यालयहरुमा देखिएको कोरोना संक्रमणले समुदायस्तरमै प्रवेश गरिसकेको छ । पछिल्लो समय बाँकेका सरकारी कार्यालयमा संक्रमितको संख्या बढ्दो छ । बाँकेको खजुरामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गर्दा पनि सरकारी कार्यालयमै संक्रमणको दर उच्च देखिएसँगै सरकारी संयन्त्र पनि संक्रमणको उच्च जोखिममा देखिएको छ । सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेपछि कार्यालयका अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् ।

बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था भयानक दुखदायी हुनसक्ने चेतावनी समेत दिँदै आएका छन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । बाँकेमा समुदायस्तमै कोरोना संक्रमण बढ्न थालेपछि आईतबारदेखि शनिबारसम्म ‘निषेधाज्ञा’ नै जारी गरिएको छ ।

‘स्थिति जटिलतर्फ बढ्दै गएको छ । त्यसैले पनि ‘निषेधाज्ञा’ जारी गर्नुपरेको बाँकेका प्रजिअ रामबहादुर कुरुम्वाङ बताउँछन् । कोरोना नियन्त्रण भइसकेको बाँकेमा प्रजिअका रूपमा कुरूम्वाङ आएपछि लकडाउन खुल्दा पुनः संक्रमण फैलिदै गएको नागरिकको आरोप छ ।