File Phto
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षणमा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
४८ घण्टाको नतिजामा बाँकेका १२ महिलासहित २८ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालले दिएको जानकारी अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एकजना चिकित्सकमा समेत भाइरस संक्रमण पुष्टि भएको छ । १४ जना भने बर्दियाका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरी निषेधाज्ञालाई उल्लंघन गर्नेलाई क्वारेन्टिनमा लगेर बसाइएको हो ।
कोरोनाको जोखिम न्यूनिकरणका लागि गरिएको निषेधाज्ञाको पालना नगर्नेहरुलाई क्वारेन्टिन पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । उनका अनुुसार व्यापारी, रिक्सा चालक लगायतका व्यक्तिलाई क्वारेन्टिन पठाइएको हो ।
गत शनिबार रातीदेखि बाँकेका निषेधाज्ञा जारी गरिएको छ । पहिलो पटक तीन दिनका लागि जारी गरिएको निषेधाज्ञा कोरोनाको संक्रमण बढ्दै गएपछि पुन चार दिन थप गरी अगामी शनिबार १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको छ ।