नेपालगन्ज : बाँकेमा केही हदसम्म कम भैसकेको कोरोना संक्रमण स्थानीय प्रशासनकै लापरबाहीले यतिबेला जताततै हटस्पट बन्दैछ । बाँकेको नेपालगन्जमा रहेका ६ र कोहलपुरको एक गरी ७ वटा सरकारी कार्यालय सिल भैसकेका छन् ।
यातायात, आन्तरिक राजश्व, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर प्रहरी, वडा प्रहरी नेपालगन्ज, मालपोत, अदालत लगायतका सरकारी कार्यालय सिल भएका छन् ।
नागरिकको उत्तिकै भीड हुने नापी, जिल्ला प्रशासन, यहाँका सात वटा गाउँपालिका लगायतका स्थानीय हतमा भने अहिले पनि कोरोना परिक्षण हुन सकेको छैन् । यस्तो परिस्थितिमा बाँकेमा लगाइएको निषेधाज्ञा बाँके प्रशासन र प्रहरीले कडाईका साथ लागु गर्न सकेका छैनन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङको सैनिक शैलीको अभियानले यहाँको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण हुने सम्भावना पनि देखिदैन् । नेपालगन्ज मात्रै होइन कोहलपुर, खजुरा लगायतका बजारमा जताततै नागरिकको बाक्लो भीडभाड हुने गरेको छ ।
प्रहरीनै कोरोना सक्रमण देखिएपनि बिहीबारदेखि सडकमा पहिलेको जस्तै बाक्लो सुरक्षाकर्मीको भीड पनि देखिन छोडेको छ । सिडिओ कुरूम्वाङको फौजीशैली र अहमतावादी सोँचका कारण यतिबेला बाँके प्रशासनलाई यहाँका राजनीतिक दल, व्यवसायी, नागरिक समाजमात्रै होइन सुरक्षाकर्मीले समेत साथ नदिएको अवस्था छ ।
सस्तो लोकप्रियतामा रमाउँने प्रशासक भएकै कारण बाँकेमा लगााइएको निषेधाज्ञा फितलो भएको नागरिकको बुझाई छ । नागरिक अगुवा प्रकाश उपाध्याय निषेधाज्ञा र लकडाउन मात्रै अब कोरोना रोकथाम र नियन्त्रणको विकल्प नभएको बताउँछन् ।
प्रशासनले लगाएको अहिलेको लकडाउन र निषेधाज्ञाको कुनै अर्थ नभएको भन्दै उनले प्रतिप्रश्न गरे ‘सडकभरी मान्छेको भीड देखिनु कस्तो निषेधाज्ञा हो ?’ उनी जस्तै बाँकेका बहुसंख्यात्मक नागरिकले अहिलेको निषेधाज्ञा नागरिकबाट होइन प्रशासनबाटै उल्लघन भएको बताउँदै आएका छन् ।
आफैले घोषणा गरेको निषेधाज्ञा कार्यान्वयन गर्न नसकेपछि प्रहरीको सहयोगमा बाँके प्रशासनले सामाजिक दुरी कायम गरी, मास्क लगाई सडकमा हिडने वटुवा, घरमै बसेर सामान्य व्यवसाय गरिरहेका साना व्यवसायी लगायतलाई पक्राउ गर्दै जर्बरजस्ती क्वारेन्टाइनमा राखेको नागरिक बताउँछन् ।
बाँके प्रशासन र प्रहरीले निषेधाज्ञा फितलो बनाएको आवाज जनताले उठाएपछि आफनो विरोधमा बोलेका ती जनतालाई नै घरघरबाट निकाल्दै पुलिसको गाडीमा राखेर जर्वरजस्ती क्वारेन्टिन लगेको स्थानीय नयाँ सडकका व्यवसायीहरू बताउँछन् ।
नेपालगन्जको न्यू रोडमा पसल खोल्ने र अनावश्यक हिड्नेलाई प्रहरीले समात्दै प्रहरी भ्यानमा राखेको प्रत्यक्षदशी बताउँछन् । कतिपय प्रहरी कोरोनाको सक्रमणमा परेको र कतिपयले बजार सुरक्षामा जान आनाकानी गरेपछि बाँकेका एसपी आफै सडकमा आएको खुलेको छ ।